सिन्धुपाल्चोक– साउन १३ गते राति घरबाट निस्किएका थिए कर्थलीका जीवन खत्री । भोलिपल्ट बिहानसम्म पनि उनी घर फर्किएनन्, न कसैको सम्पर्कमा नै आए । यसरी अचानक उनी बेपत्ता भएको खबर मौखिक रुपमा सिन्धुपाल्चोक प्रहरीले पायो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक प्रज्वल महर्जनले भने, ‘उनका आफन्तबाट जानकारी आएपछि खोजीकार्य सुरु भयो ।’
प्रहरीले घटनाबारे अनुसन्धान उनको घरबाटै सुरु गरेको थियो । प्रारम्भिक चरणमा प्रहरीले जीवनकी श्रीमती पूजा खत्रीसँग सोधपुछ गर्याे । सोधपुछका क्रममा पूजाले दिएको जवाफबाट प्रहरी नै अचम्मित भयाे । स्राेतका अनुसार जीवन राति १२ बजेको हाराहारीमा घरबाट श्रीमतीसँग सल्लाह गरेरै निस्किएका रहेछन् ।
‘कसैले मलाई खोज्यो भने ४–५ जना आएर जबरजस्ती लगे, २५ लाख नदिए मार्ने धम्की दिएका छन् भन्दिनू भनेर श्रीमतीलाई सिकाएर गएका रहेछन्,' पारिवारिक स्राेतले भन्यो । तर, उनी कहाँ गएका थिए भन्ने कसैलाई जानकारी थिएन । प्रहरीले उनलाई बुधबार दिनभर खोजिरह्यो । तर, उनी राति मात्र फेला परे ।
प्रहरीले उनलाई राति ८ः३० बजे सिन्धुपाल्चोककै यमुना डाँडामा फेला पर्याे । अहिले उनी प्रहरी हिरासतमा छन् । ‘उनीसँग सोधपुछ गरिरहेका छौ,' प्रहरी उपरिक्षक महर्जन भन्छन्, ‘अपहरण नै भएको भन्ने पुष्टि हुन गाह्रो छ ।'
पैसाको लालचमा आफ्नै अपहरणको नाटक !
जीवन खत्रीका भिनाजु मुकेश मित्तल व्यापारी हुन् । करेन्ट गुट्खादेखि खैनीसम्मको व्यापार गर्छन् उनी । जीवन पनि पहिले आफ्नै भिनाजुकहाँ काम गर्थे । लामो समय त्यहाँ काम गरेका उनले करिब एक वर्षअघि काम छोडेका थिए ।
‘भिनाजुको आम्दनी राम्रो छ,' नाम नखुलाउने सर्तमा जीवननिकट स्राेतले भन्यो, ‘आफ्नै अपहरणको नाटक गरेर पैसा फुत्काउन खोजेको हुन सक्छ ।’