धनुषा– उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।
५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो । न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारबाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।
उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।– रासस