काठमाडौं– नेपाली फिल्म ‘सङ अफ क्लाउड’ले इटालीको असोलो आर्ट फिल्म फेस्टिभलमा अवार्ड जितेको छ । अंकित पौडेलको डेब्यु फिल्मले आर्ट सेक्सनअन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड जितेको हो ।
अवार्डसँगै पाँच सय युरो पाएको फिल्मले मृत्युपछिको अर्को संसारको यात्राको सांकेतिक दृश्य प्रस्तुत गरेको छ । फिल्ममा जीवन र मृत्युबीचको पीडा र तिर्सनालाई निर्देशक अंकितले बिम्बात्मक प्रस्तुति गरेका छन् ।
किशोरको ध्वनि परिकल्पनाको विशेष प्रशंसा
यस फिल्मलाई अवार्ड दिँदै निर्णयकहरूले परिष्कृत रुपमा प्रस्तुत भएको ध्वनि परिकल्पना र संयोजनको विशेष प्रशंसा गरेका छन् ।
किशोर आचार्यको ध्वनि परिकल्पना, संयोजन र मिक्सिङले फिल्मको सान्दर्भिकतालाई आफ्नै शैली दिएको छ । किशोरले सांसारिक जीवनमा प्रयोग हुने आवाजहरुको कुशल संयोजन गर्दै ध्वनिमार्फत भावनात्मक अभिव्यक्ति गर्न सघाएका छन् ।
फिल्म ‘सङ्ग अफ क्लाउड’को दृश्यबाट । फोटोः अंकित पौडेलबाट ।
फिल्मले अवार्ड पाएपछि किशोरले नेपाली पब्लिकलाई भने, ‘आफूले काम गरेको फिल्मले अवार्ड पाउनु खुसीको कुरा हो । यसमा फिल्मको साउन्ड कस्तो हुनुपर्ने भन्नेमा निर्देशक स्पष्ट थिए । सोअनुसार मैले साउन्डको डिजाइन गर्ने प्रशस्तै स्पेस पाएको थिएँ ।’
‘यो फिल्मको साउन्डको काम सबै यहीँ गरेको हो । हामी हाम्रै स्रोत र साधनमा पनि केही हदसम्मको कुशल काम गर्न सक्छौं । हामीकहाँ पनि साउन्ड स्टोरी टेलिङको पार्ट हो भन्ने बुझाइ बिस्तारै भए पनि फराकिलो हुँदै गएको छ,’ किशोरले बताए ।
सिनेमाटोग्राफीबाट आएका निर्देशक
फिल्ममा देखिने साधारण ‘एक्सन’ र अवाजका साथ मौन र संक्षिप्त रुपमा गरिएको प्रस्तुतिलाई पनि निर्णायकले प्रशंसा गरेका छन् । साथै सन्तुलित सिनेमाटोग्राफीले फिल्मलाई ‘नोस्टाल्जिक’ बनाउन सघाएको उल्लेख गरेका थिए । फिल्ममा सिनेमाटोग्राफी निर्देशक अंकितले नै गरेका हुन् ।
फिल्म मेकिङमा स्नातक गरेका निर्देशक अंकितले यसअघि विभिन्न २० भन्दा बढी फिल्महरुमा सिनेमाटोग्राफरको रुपमा आफ्ना कला परिचित गराइसकेका छन् ।
हाल अमेरिकामा फिल्म मेकिङ अध्ययन गरिरहेका अंकितले खुसी व्यक्त गरेका छन् । ‘म आफ्ना वरिपरि देखेका र सुनेका कुराहरु र आफनै जीवनको अनुभव र सम्झनाहरुबाट कथा र कथा भन्ने शैली बटुल्छु ।’ नेपाली पब्लिकसँग फेसबुक च्याट गर्दै उनले भने, ‘न्यूनतम स्रोत र साधनमा बनेको फिल्मले पनि इन्टरनेसनल फेस्टिभलमा स्थान पाउँदा खुसी लागेको छ ।’
फिल्म ‘सङ अफ क्लाउड’को दृश्यबाट । फोटो : अंकित पौडेलबाट ।
अन्तर्राष्ट्रिय यात्रा
‘सङ अफ क्लाउड’ यसअघि प्रतिष्ठित सनडान्स फिल्म फेस्टिभल, अटलान्टा फिल्म फेस्टिभल, पाम स्प्रिङ इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल, नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्टलगायतमा छनौट भई प्रदर्शन भइसकेको छ ।
यस फिल्मले ‘वर्ल्ड फेस्ट– होउसटन इन्टरनेशनल फिल्म फेस्टिभल’मा ‘ब्रन्ज रेमी अवार्ड’ जितेको थियो ।
फिल्ममा धनमाया गुरुङ, सुदर्शन गुरुङ र प्रेम तामाङले पहिलोपटक अभिनय गरेका छन् ।
पछिल्लो समय नेपाली फिल्महरुले अन्तर्राष्ट्रिय रुपमा बारम्बार बलियो रुपमा उपस्थिति जनाउँदै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्न सक्ने क्षमताप्रति राम्रो संकेत गरिरहेको छ ।
असोलो फेस्टिभलबारे
असोलो फेस्टिभल सन् १९७३ बाट इटालीको असोलो सहरमा सुरु भएको हो । सन् १९६८ मा भएको आन्दोनलपश्चात् भेनिस फिल्म फेस्टिभलले आफ्नो इन्टरनेसनल सेक्सनबाट आर्ट लगायतका क्याटोगोरी हटाइएपछि यसको अवधारण आएको हो ।
फिल्म समीक्षक तथा लेखक फ्लाविया पाउलनले असोलोमा नयाँ फेस्टिभल सुरु गरेकी हुन् ।