काठमाडौं–
साउन २ गते सांसदको लोगो छापिएर नेकपाको संसदीय दलमा आयो । लोगो तत्कालीन नेकपा एमालेको संसदीय दलको कार्यालयबाट वितरण गर्न थालियो । तर, पूर्वमाओवादीका सांसदले लोगो लिन गएनन् । ‘पूर्वएमालेको संसदीय दलको कार्यालयबाट बाँडेकै कारण’ पूर्वमाओवादीका सांसद लोगो ग्रहण गर्न नगएका हुन् ।
तत्कालीन एमाले र माओवादीबीच भएको भनिएको एकता र अन्तरसंघर्षलाई बुझ्न उक्त घटना सहयोगी हुन सक्छ । यसबाट प्रस्ट संकेत मिल्छ कि एमाले र माओवादी प्राविधिक रुपमा मिले पनि विचार, सिद्धान्त, संगठन र मनदेखि मिलेका छैनन् ।
अझै दुवै पार्टीका संसदीय दलको कार्यालय अस्तित्वमा रहनु मात्रै होइन, नेताहरुका भाषण र कार्यकर्ताको व्यवहारले भएको भनिएको ‘एकता’कै खिल्ली उडाएको छ ।
तत्कालीन स्थितिमा प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा धेरै सिट चुनाव जित्ने निहित स्वार्थबाट प्रेरित हुँदै गरिएको एकतामा कुनै सैद्धान्तिक बहस नै भएन । न त कार्यकर्ताको मनमत बुझ्ने प्रयास भयो । परिणामतः अहिले दुई पार्टी जोडिएर बनेको नेकपाभित्र चरम विवाद छ ।
तत्कालीन स्थितिमा प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा धेरै सिट चुनाव जित्ने निहित स्वार्थबाट प्रेरित हुँदै गरिएको एकतामा कुनै सैद्धान्तिक बहस नै भएन । न त कार्यकर्ताको मनमत बुझ्ने प्रयास भयो । परिणामतः अहिले दुई पार्टी जोडिएर बनेको नेकपाभित्र चरम विवाद छ ।
विगतको व्यवहार हेर्दा अहिले पार्टी फुट्नसम्म सक्ने संकेत देखिनु नौलो होइन । पद, ओहोदा र शक्तिको स्वार्थमा गरिएको एकता स्वार्थ बाझिएकै दिन फुट्न सक्ने सम्भावना जीवितै छ । न त केन्द्रीय नेताहरुबीच मन मिलेको छ, न सांसद तथा अरु तहका जनप्रतिनिधिबीच । कार्यकर्ता तहमा त पार्टी एकताले कुनै खुसी ल्याउनै सकेन । पार्टी एकता हुनेबित्तिकै दुवै पार्टीका केही कार्यकर्ता उत्साही पनि थिए । तर, उनीहरुको उत्साह लामो समय टिक्न सकेन । अहिले नेताका व्यवहारले ती कार्यकर्ता निराश छन् ।
हाइड्रोजन र अक्सिजनदेखि महासागरसम्मको किस्सा !
पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘अक्सिजन र हाइड्रोजन मिलेर पानी बनिसक्यो । अब पानीमा हाइड्रोजन कता, अक्सिजन कता भनेर खोज्नुहुँदैन ।’
तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘महासागरमा पुगेपछि कुन नदीको पानी कुन भनेर खोज्नु मूर्खता हुन्छ ।’
तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘महासागरमा पुगेपछि कुन नदीको पानी कुन भनेर खोज्नु मूर्खता हुन्छ ।’
पार्टी एकतालाई अभूतपूर्व भन्दै आत्मप्रशंसा गरेका नेताहरुले यस्ता थुप्रै बिम्ब प्रयोग गरेर कार्यकर्ताको आँखामा छारो हाले । परिणामतः आँखाको छारो पुछियो । कार्यकर्ताले छर्लंग बुझे कि पार्टी एकता केही नेताको निहित स्वार्थका लागि गरिएको प्रपञ्च थियो ।
एकता प्रक्रिया नसकिँदै फुटको खतरा !
पार्टी एकता भएको भनिएको दुई वर्ष बितिसक्यो । तर, अझै तल्लो तहसम्म एकीकरण प्रक्रिया टुंगिएको छैन । एकताको प्रक्रिया टुंगिन नपाउँदै अहिले पार्टी फुट्न सक्ने सम्भावना बढेको प्रस्ट छ ।
नेतृत्व तहमै विवाद बढेकाका कारण समस्या भएको स्विकार्छन्, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ । ‘नेता नै मिलेका छैनन्, कार्यकर्ता कसरी मिल्नु ?’ उनी भन्छन् ।
विवादको शृंखला
दुई पार्टीबीच एकता भएपछि तत्कालीन माओवादीले १ फागुनमा मनाउँदै आएको जनयुद्ध दिवसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर कार्यक्रम तय गर्यो । तर, ओली गएनन् ।
तत्कालीन माओवादीले मनाउँदै आएको शहीद दिवस होस् कि जनयुद्ध दिवस ! ओली अहिलेसम्म सहभागी भएका छैनन् । तत्कालीन समयमा चुनावी गठबन्धन राम्रै भए पनि पार्टी एकताको स्तरमा नेता–कार्यकर्ताबीच मन मिलेन । परिणामतः अहिले पार्टी फुटको संकेत देखिइरहेको छ ।
विचारमा एकता नभएकाले दुई पार्टीबीच एकता भएको भन्ने महसुस नै नभएको बताउँछन्, नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने । ‘दुवै पार्टीका नेता कार्यकताले आपसमा शंकाको नजरले मात्रै हेर्छन्,’ न्यौपाने भन्छन्, ‘धेरैलाई पार्टी एकता भएको आभास नै भएन ।’
तर, राजनीतिमा स्थायी शत्रु–मित्र नहुने तर्क गर्छन्, राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईं । ‘फाइदा हुने अवस्थासम्म दुवै पार्टीले मिलेको अभिनय गर्छन् । जुन दिन स्वार्थ मिल्दैन, त्यो दिन पार्टी फुट्छ,’ उनले भने, ‘दुई पार्टीबीच एकता हुने भनेको सिद्धान्त, विचार र सांगठनिक रुपमा हो तर योचाहिँ दुई गुटको स्वार्थमिलान जस्तो छ ।’
‘फाइदा हुने अवस्थासम्म दुवै पार्टीले मिलेको अभिनय गर्छन् । जुन दिन स्वार्थ मिल्दैन, त्यो दिन पार्टी फुट्छ,’ उनले भने, ‘दुई पार्टीबीच एकता हुने भनेको सिद्धान्त, विचार र सांगठनिक रुपमा हो तर योचाहिँ दुई गुटको स्वार्थमिलान जस्तो छ ।’
नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भने पार्टी प्रक्रिया लम्बिनु स्वाभाविक भएको बताउँछन् । पौडेलले भने, ‘अब नेकपामा तत्कालीन एमाले र माओवादी भन्ने छैन । अन्तर्घुलन भइसक्यो । वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाललगायतको टिम प्रचण्डसँग मिलेर जानु यसको उदाहरण हो । अब नेकपा मात्र छ । पूर्वएमाले, पूर्वमाओवादी सकिसकेका छन् ।’
नेकपामा अहिले त एकलाई पदबाट हटाएर अर्कोले साे पद पाउनुपर्ने अवस्था छ । न त विचारले काम गरेको छ न त सिद्धान्तले, न कुनै विधिमा नै चलेको छ । यस्तो अवस्थामा पार्टीबीच अन्तर्घुलनको आकांक्षा गर्नु मनोगत हुने न्यौपानेको बुझाइ छ ।
अहिलेको गतिविधि र स्थितिले पूर्वएमाले र माओवादीको एकता कोदोमा चामल मिसिएको जस्तो भएको टिप्पणी हुन थालेको छ । भनिन्छ, ‘यतिसम्म कि कोदो र तोरी मिसिए जस्तो पनि भएन ।’
०००