काबुल–
अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । इदका अवसरमा तीन दिने नयाँ युद्धविराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्खिित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाइसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए ।
राष्ट्रपति घानीले भने, ‘सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५०० तालिबानी लडाकुलाई इदका अवसरमा रिहा गर्दै छौं ।’
अफगान सरकारले यसअघि नै ४ हजार ६०० जना बन्दीलाई रिहा गरिसकेको छ । तर, ४०० जना निकै खतरनाक ठानिएका लडाकुहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाइ हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४०० तालिबानी लडाकूलाई रिहाइको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका छन् । अफगानी ज्येष्ठ एवं प्रबुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने घानीले बताए ।
राष्ट्रपतिको उक्त भनाइप्रति तालिबानले कुनै टिप्पणी गरेको छैन । फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकु एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो ।
गएको बिहीबार तालिबानले आफ्नो कब्जामा रहेका सबै एक हजार सरकारी फौजलाई रिहाइ गरिसकेको बताएका छन् । युद्धबन्दीहरुको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वशर्तका रुपमा रहेको थियो । घानी र तालिबानले यसै साता इदलगत्तै वार्ता शुरु गर्ने संकेत दिएका छन् ।