हुम्ला– एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० घरपालुवा जनावर मरेका छन् । अचानक छाती सुनिने, घाँस नखाने, र्याल छोड्ने जस्ता लक्षण भएको रोगका कारण छ भैंसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए ।
‘असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौं,’ धितालले भने, ‘अधिकांश पशुवस्तु अहिले जंगलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।’
विभिन्न गाउँमा सयभन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ ।
पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकाले तत्काललै पशु स्वास्थ्यकर्मीलाई औषधिसहित पठाएको बताएको छ ।– रासस