मकवानपुर– कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट १०६ मेगावट विद्युत् उत्पादन हुँदै आएको छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको हो ।
इन्द्रसरोवर जलाशयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८.५२ पानीको सतह थियो भने आज अपराह्न ४ बजेसम्ममा १५१८.३५ सतहसम्म मात्र पानी रहेको छ । हिजोको तुलनामा आज १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिए ।
कुलेखानी जलविद्युतबाट उत्पादित विद्युत् हेटौंडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न सहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तर रूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले बताए ।– रासस