काठमाडौं– विदेशमा राम्रो रोजगारी दिलाइदिने प्रलोभनमा पारी ६ महिलालाई बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ उपरेका छन् । प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका(१ का ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ का ५६ वर्षीय प्रवीन शबिन शाहलाई पक्राउ गरेको हो ।
उनीहरुले झापा, मोरङ र पर्वतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगन्ज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याएर एउटा घरमा बन्धक बनाएका थिए । ती महिलालाई शारीरिक तथा मानसिक यातना दिएकोसमेत खुलेको छ ।
ब्युरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ सार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाइएको छ । उनीहरुउपर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।