काठमाडौं– नेपालमा ७२ प्रतिशत कोरोना संक्रमित निको भएकाे बताइएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ७२.८ प्रतिशत संक्रमित निको भएका हुन् ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ५१ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । त्यस्तै, भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ संक्रमण शून्य छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै, काठमाडौंमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५-१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन÷तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई÷दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक÷एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
संक्रमित र परीक्षण
गत २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना देखिएको छ । यो संख्यासँगै नेपालमा १९ हजार ७ सय ७१ जना कोरोना संक्रमित छन् ।
सक्रिय संक्रमित ५ हजार ३१६ छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा २ हजार ३४, बाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४८३ छन् ।
नेपालमा कोभिड–१९ पिसिआर परीक्षण प्रति १० लाख जनसंख्यामा १२ हजार ७ सय ८८ र १० लाख जनसंख्यामा मृत्युको दर १.९ छ । आजको १० हजार ७६८ सहित जम्मा ३ लाख ७५ हजार ४ सय १६ पिसिआर परीक्षण भएको छ । क्वारेन्टिनमा १२ हजार १११ जना छन् ।
पछिल्लो समय काठमाडौं र बिहीबार मात्र सिरहामा आमसभा भएको खबर मन्त्रालयलाई प्राप्त भएको बताउँदै ती खबर दुःखद भएको प्रवक्ता गौतमले टिप्पणी गरे । कतिपय नाकामा पनि नियन्त्रण नभएको गौतमको भनाइ छ । उनले भारतबाट कामदार नेपाल ल्याएर ओखलढुंगा पु¥याएको र २१ जना कामदारमध्ये १८ जनामा कोरोना पुष्टि भएको जनाए । पछिल्लो समयमा समूहमा बस्नेमा बढी कोभिड–१९ देखापरेको बताए । उनले भने, ‘प्रहरी र स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ आएको छ ।’
मास्क कारबाही
अहिलेसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई सरकारले कारबाही गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले सेवाग्राहीको चाप बढी हुने स्थानमा भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ ।