काठमाडौं– सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण गर्न अभियान स्ुरु गरेपछि बालविवाह गर्नेले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन् । केटा पक्षका परिवारले पक्राउ पर्ने डरले दुलाहा–दुलहीलाई विवाहको धार्मिक कार्यविना नै भित्र्याउन थालेका छन् ।
यही साउन १२ गतेका दिन बालविवाह गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्ने डरले धार्मिक कार्यविना नै विवाह गरेको रहस्य खुलेको हो । गएको माघ १ गतेका दिन बनगाड कुपिण्डे नगरपालिका–१२ कि १९ वर्षीया पुष्पा खड्का र कपुरकोट गाउँपालिका–५ रिम निवासी १७ वर्षीय सोवाराम रोकाबीच फरक शैलीमा विवाह भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
बालविवाह नै हो भन्ने थाहा पाएका सोवाराम रोकाका आमाबुबाले धार्मिक कार्य नै नगरी घरमा बालिकालाई बुहारीका रुपमा भित्र्याएको बताएका छन् ।
गाउँघरमा सबैलाई खबर गरेपछि बालविवाह भएको थाहा हुने र प्रहरीले पक्राउ गर्ने डरले नै धार्मिक विधिअनुसार विवाह नगरेको हुनसक्ने प्रहरीको दाबी छ । विवाह गरेको चार महिनापछि गाडी रिजर्भ गरेर माइती जाने क्रममा अस्थायी प्रहरी पोस्ट रिमले सोधपुछ गर्दा बालविवाह गरेको खुलेपछि दुलाहाका बाबु दयाराम रोका र आमा केवली रोकासहित चार जनालाई पक्राउ गरेर बालविवाहसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि अभियान तीव्र पारेपछि बालविवाहका घटना बाहिर नआउनुमा विवाहको शैलीसमेत फरक हुन थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
‘हामीले स्थानीय तहसँग मिलेर बालविवाह न्यूनीकरणका लागि जिल्लाभरि अभियान नै सञ्चालन गरेका छौं । तर अहिले प्रहरीले पक्राउ गर्ने डरले धार्मिक विधिअनुसार विवाह नगरेर फरक शैलीमा विवाह गर्ने गरेको सूचना प्राप्त हुन थालेको छ,’ खतिवडाले भने ।
प्रहरीले बालविवाहमा संलग्नलाई मात्र होइन, जिल्लामा हुने सबै प्रकारका विवाह हुनुभन्दाअगावै छापिने निमन्त्रणा कार्ड छाप्नुभन्दा पहिले नै अनिवार्यरुपमा जन्मदर्ताको प्रतिलिपी राखेर मात्रै छाप्ने गरी जिल्लामा रहेका छापाखानालाई लिखित कागज गराइसकेको छ । यति मात्र होइन, विवाह गराउन जाने पण्डित तथा ज्योतिषीलाई समेत विवाह हुनुपूर्व नै केटाकेटीको जन्मदर्ता ल्याएपछि मात्रै विवाह गराउने गरी जिल्ला प्रहरी कार्यालयमै लिखित सहीछाप गराइसकेको प्रहरीले जनाएको छ ।
अहिले समुदायस्तरबाट नै बालविवाह गरेको सूचना प्राप्त हुने भएकाले पनि भोजभतेर गरेर विवाह गर्न छोडेको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ ।
‘हामीले जिल्लाका करिब ४७ हजार घरधुरीमा महत्त्वपूर्ण टेलिफोनसहितका स्टिकर टाँसेका छौं । अहिले धेरैजसो अपराधका सूचना स्थानीय समुदायबाट नै आइरहेको छ बालविवाह हुन लागेको भए पनि हामीलाई तुरुन्तै सूचना आउँछ,’ खतिवडाले भने ।
जिल्लामा बालविवाह न्यूनीकरणका लागि स्थानीय तहसमेत एकजुट भएकाले पनि न्यूनीकरण हुँदै गएको प्रहरीको भनाइ छ । बालविवाह गर्दा बालिकाको स्वास्थ्य अवस्था जोखिममा पर्ने मात्र हैन यसले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा समेत वृद्धि गर्ने कारक तत्त्वका रुपमा हेरिएको छ ।
जिल्लाका १० वटै स्थानीय तहको दरिलो साथ पाएको प्रहरीले जिल्लामा हुने बालविवाहलगायतका अन्य आपराधिक घटनामा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । प्रहरीले एक हप्ताको अवधिमा जिल्ला अदालत सल्यानबाट कैद सजाय सुनाइएका र अदालतको सम्पर्कमा नआएका ५५ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यसमध्ये १६ जना कैद भुक्तानका लागि कारागार चलान भएका छन् भने ३७ जनालाई जरिमाना बुझाएर तारेखमा छोडिएको जिल्ला अदालत सल्यानले जनाएको छ ।