२०७७ साउन १५ गते, साँझ ।
फेसबुक स्क्रोल गर्दै गर्दा एउटा पोस्टमा औंला रोकियो । त्यहाँ अभिनेत्री करिश्मा मानन्धरको रातो सारी र पोते लगाएको फोटो थियो । अझ मेरो ध्यान त्यससँगै रहेको अर्को फोटोले तान्याे, जहाँ करिश्मा दिदी सानी बच्ची बोकिरहनुभएको थियो र उहाँ स्वयम् नै बच्चाजस्तै देखिनुहुन्थ्यो । त्यस पोस्टको शीर्षक पढेपछि स्क्रोल गर्न रोकिएको औंलाले शीर्षकमा क्लिक गर्न बाध्य भएँ । शीर्षक थियो, ‘फिल्म खेल्न गर्भपतन गराएँ ।’
लाग्यो, ला ! अब फेरि सामाजिक सञ्जालले एउटा अर्को विषय पाउने भयो, कसैको इज्जतलाई सक्दो लछारपछार पार्न !
नेपाली पब्लिक डट कमको स्तम्भ ‘प्रसव : पीडा र खुसी’मा अभिनेत्री करिश्मा मानन्धरको प्रसवः अनुभूतिलाई सिर्जना दुवालले उतार्नुभएको अक्षरहरूमाथि मेरा आँखा कुदे ।
नेपाली पब्लिकमा प्रकाशित भएको सामाग्रीको कभर डिजाइन ।
पढ्दै जाँदा म स्वयम् यही क्षेत्रको र महिला भएको नाताले पनि हुन सक्छ सायद करिश्मा दिदीको मनोभावलाई धेरै हदसम्म महसुस गर्न सकें । हुन त मैले मातृत्वको अनुभव गरिसकेको छैन तर कति कुराहरू सुनेर, हेरेर पनि महसुस गर्न सकिन्छ, जुन स्वाभाविक हो ।
करिश्मा मानन्धर नेपाली सिनेमा जगतको एउटा यस्तो नाम हो, जसलाई नेपाली सिने जगतले चाहेर पनि भुल्न सक्दैन । उहाँका थुप्रै सिनेमा हेरेर उहाँबाट प्रभावित वा प्रेरित हुनेहरूको पनि कमी छैन । उहाँको भौतिक सुन्दरताको विषयमा मिडिया र ‘मास’मा यति चर्चा भइसकेका छन् कि सुन्दरताको उहाँ पर्यायवाची नै हुनुहुन्छ । आफू चर्चित अभिनेत्री हुँ र अरुले के भन्लान् भन्ने जस्ता हाम्रा पुरातन मान्यताको पर्वाह नगरी पछिल्लो समय स्कुल धाएर एइई परीक्षा दिने एक जिज्ञासु, कर्मठ महिलाका रुपमा होस् वा राजनीतिप्रतिको सचेतता र सक्रियता नै होस्, यस कोणबाट पनि उहाँ सुन्दर हुनुहुन्छ ।
उहाँको सिनेमा जगतमा जुन उचाइ छ, त्यसलाई प्राप्त गर्न के कस्ता कठिनाइहरू भोग्न पर्यो होला भन्ने कुराहरू आम रुपमा खासै मतलबको विषय बन्दैनन् । अथवा बनिहाले पनि त्यसलाई मापन गर्ने आ–आफ्नै अवधारणा बन्ने गर्छ । अझ महिला अभिनेत्रीको सवालमा संघर्षभन्दा पनि उनका स्कर्टदेखि फरियासम्म, ओठदेखि तिघ्रासम्मका प्रसंगहरूमा भुल्ने गरेको तीता यथार्थ छँदै छन् ।
मैले थुप्रै कलाकारको संघर्ष जीवनसम्बन्धी थुप्रै अन्तर्वार्ता पढेको छु, जसले मलाई नै पनि दुई कदम बढी कठिनाइ चिर्दै अघि बढ्न मद्दत पनि गरेको छ । तर, यो अन्तर्वार्ता पढ्दै गर्दा कस्तो कस्तो लाग्यो ! खासमा दिदीले गर्भपतन गराउनुको पछाडि करियरलाई लिएर डरभन्दा पनि बढी अपरिपक्वता थियो जस्तो लाग्यो । ‘कसैको ज्यान ठूलो कि करियर ?’ भन्ने यावत् प्रश्नहरू पनि आउन सक्छन् ।
देख्नेले करिश्मा दिदीलाई हदैसम्मको स्वार्थी पनि देख्न सक्छन्, तर भोग्नु त उहाँले भएको हो नि । उहाँ स्वयंलाई झन् कति गाह्रो भयो होला, त्यो समय काट्न ! उहाँको अन्तर्वार्ता पढ्दै गर्दा पनि महसुस गर्न सकिन्छ ।
एउटी महिलाले बच्चा जन्माउनुभन्दा अगाडि श्रीमानको मुख हेर्न पनि ‘सुप खान मन लाग्यो ल्याइदिनू न’ भनेर बहाना बनाउनुपरेको कुरा पढ्दै गर्दा लाग्यो, त्यो असहजता र अभावका बारेमा पछि कुरा भयो कि भएन ?
यदि उहाँलाई त्यस कुराले नपिरोलेको भए यो कुरा उहाँसँग मात्र सीमित हुन पनि सक्थ्यो । कुनै पनि मान्छेको आ–आफ्नै यात्रा हुन्छ, ती हामीले स्वीकार गर्नु–नगर्नु, आफ्नो कुरा हो । कसैले करियरका लागि बाआमा र घरपरिवार त्यागेको सुन्छौं । हामी आँसु खसाल्छौं, भावुक हुन्छौं, घर छोडेर हिँड्नु पर्दाको कुराले मान्छेलाई एक्लो बनाउँछ भन्ने कुरा हामीले बुझेका छौं । के यही ठाउँमा हामी करिश्मा दिदीको भोगाइलाई त्याग मान्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हो ।
यहाँ मैले गर्भपतनलाई प्रेरित गर्न बिलकुलै खोजेको होइन । पछुताउनुभन्दा उपाय अपनाउनु राम्रो हो तर दिदीका कुरा पढेअनुसार सायद दिदीले जे निर्णय गर्नुभयो, त्यो उहाँको करियर, दम्पतीबीचको सल्लाह र स्वास्थ्यको हिसाबले पनि ठीक थियो जस्तो लाग्यो ।
तर्क–वितर्क गर्ने हो भने त अनेक किसिमका कुरा बाहिर आउन सक्छ । भन्नेले त हामीले भनेका थियौं, ‘यस्तो गर्न–उस्तो गर्न’ अथवा आफ्नै लागि गरेर ठूलो कुरा गर्न खोज्ने भन्ने कुरा पनि आउन सक्ला ।
तर, मान्छे भएर सोच्दा उहाँले बताउनुभएका थुप्रै कुराले पहिलादेखि नै महिलालाई कति असहज थियो भन्ने कुरा प्रस्ट हुन्छ । आफूलाइ आवश्यक पर्दा जीवनसाथी आफूसँग नहुँदाको पीडा एउटी नारीले कहिले भुल्न सक्दिनन् भन्ने कुरा प्रस्ट देख्न सकिन्छ । जीवनसाथी भनेको त हर कठिन परिस्थितिमा सशरीर उपस्थित हुन सक्नु हो । परिस्थितिजन्य अवस्थामा टाढा रहेर पनि सँगै रहेको महसुस गराउन सक्नु हो ।
तर, त्यहाँ एउटी महिलाले बच्चा जन्माउनुभन्दा अगाडि श्रीमानको मुख हेर्न पनि ‘सुप खान मन लाग्यो ल्याइदिनू न’ भनेर बहाना बनाउनुपरेको कुरा पढ्दै गर्दा लाग्यो, त्यो असहजता र अभावका बारेमा पछि कुरा भयो कि भएन ?
हुन त मेरो आजसम्म करिश्मा दिदीसँग भेट त भएको छैन । तर, कुनै दिन भेट भयो भने यो भोगाइ सुनाउने आँट गर्नु भएकामा धन्यवाद पक्कै भन्नेछु ।
रह्यो, उहाँको यस अन्तर्वार्तापछि सामाजिक सञ्जालले करिश्मा मानन्धरप्रति के सोच निर्माण गर्ला ! कस्ता कस्ता ट्रोलको सिकार हुनुपर्ला अथवा नपर्ला । उहाँको छातीमाथि खोपिएको ट्याटुको बेला बेला टीकाटिप्पणी गर्नेहरूले छातीभित्रको खाटोको कुरालाई कसरी हेर्लान् ?
सामाजिक सञ्जाल पछिल्लो केही समयमा ‘सञ्जाल कम अदालत ज्यादा’ भएको देखिन्छ, जहाँ हिजो ‘वाह’ गरिएको व्यक्तिहरूको केही टीकाटिप्पणीलाई आधार बनाएर रातारात सुनुवाइ भइसक्छ र महिनौ मानसिक तनाव भोग्नुपर्ने सजाय सुनाइन्छ ।
मेरो चाहना यति हो कि करिश्मा दिदीले साँचो कुरा बोलेकै भरमा नानाथरी सुन्न नपरोस् । आगामी दिनहरूमा कसैले पनि आफ्नो पीडा सुनाउँदा थप पीडित हुन नपरोस् ।
(बर्देवा कलाकार हुन्)
यो पनि पढ्नुहोस् :
‘फिल्म खेल्न गर्भपतन गराएँ’