एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको विजेता भएको छ ।
शुक्रबार राति भएको खेलमा लियोनलाई सडनडेथमा ६–५ ले पराजित गर्दै पीएसजीले लिगको कप आफ्नो पोल्टामा पारेको हो ।
रोमाञ्चक र चुनौतिले भरिएको खेलमा निर्धारित समयसम्म तथा थप गरिएको समयमा पनि गोल नभएपछि खेल सडनडेथमा पुगेको थियो ।
लियोनका बर्टरान्ड ट्राओरे पेनाल्टीमा चुक्दा पीएसजी लिग विजेता बनेको हो ।
पेनाल्टीमा पीएसजीका ६ जना खेलाडीले नै गोल गरेका थिए भने लियोनका ५ जना खेलाडीले गोल गरे ।
पीएसजीका लागि मार्को भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्जल डि मारिया, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गरेका थिए भने लियोनका कार्ल टुको एकम्वी, म्याक्सइन्स, जोअचिम एन्डरसन, हुसेन एओअर र थियागो मेन्डिसले गोल गरेका थिए ।