बैतडी– पछिल्लो समय बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढेसँगै महिला हिंसामा कमी आएको पाइएको छ । अधिकारकर्मी पार्वती भट्टका अनुसार विगतमा सम्पत्तिमा महिलाको पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता गर्ने चलन बढेसँगै हिंसामा केही कमी आएको हो ।
महिलाको नाममा जग्गा दर्ता
महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गाको स्वामित्व बढ्दै गएको हो । नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको संख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिए ।
जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६÷७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेको थियो ।
महिलाको नाममा जग्गादर्ता गरेबापत २ लाख ७७ हजार राजस्ट छुट भएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजस्ट छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताए । प्रत्येक वर्ष महिलाका नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ ।
नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख छ । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै सुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको संख्या बढ्दै गएको हो । २०६७ मा भूमिअधिकार मञ्चमार्फत संयुक्त लालपुर्जाको अवधारणा अघि सारेर महिलाका नाममा सम्पत्ति दर्ता गराउने काममा सहजीकरण गरेको अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ ।
महिलाका नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पुर्याउन सजिलो भएको छ । ‘पहिला पहिला महिलाका नाममा जग्गादर्ता गर्ने चलन नै थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ,’ उनले भने, ‘महिलाको स्रोत तथा सम्पत्तिमा पहुँच पुर्याउन नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।’
महिलाका नाममा सम्पत्ति बढ्दै गएपछि महिलाले अधिकार पाएको अनुभूति गर्न थालेका छन् । पछिल्लो समय स्थानीय तहमा महिला जनप्रतिनिधि आएपछि महिलाको पनि जग्गामा स्वामित्व बढ्दै गएको हो । महिलाको अधिकारका कुरा उठाउन थालेपछि जग्गामा पनि अधिकार बढ्दै गएको महिला जनप्रतिनिधिहरुको दाबी छ ।