काठमाडौं– जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले अबका केही दिन अविरल वर्षा नहुने बताएका छन् । उनका अनुसार छोटो समयका लागि खण्ड खण्डमा भने मध्यम र भारी वर्षा हुने सम्भावना छ ।
यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने उनको भनाइ छ । अर्यालका अनुसार देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यम खालको वर्षा हुने सम्भावना छ ।
प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सि भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालको भनाइ छ ।