काभ्रेपलाञ्चोक– तेमाल गाउँपालिकाले शिक्षकलाई होम क्वारेन्टिनमा राख्ने भएको छ । तेमालले सूचना प्रकाशित गरेर साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
सरकारले आगामी भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपछि गाउँपालिकाले जिल्ला बाहिर गएका आफ्ना शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न आग्रहसमेत गरेको हो ।
‘होम क्वारेन्टिन बसाइपछि स्वास्थ्य परीक्षण गरेर मात्र शिक्षकलाई विद्यालय पठाइनेछ,’ गाउँपालिका अध्यक्ष सलामसिं तामाङले भने । उनका अनुसार अगामी भदौ १ गतेबाट कारोना भाइरस संक्रमणरहित शिक्षकले विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण तथा अन्य कार्य क्रमैसँग सञ्चालन गरिनेछ ।
गाउँपालिकाले विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टिन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ । सरकारले गत बिहीबार आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेपछि काभ्रेपलाञ्चोकका क्वारेन्टिन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको छ । बाँकी दुई हप्ताका अवधिमा विद्यालयबाट क्वारेन्टिन सार्ने प्रक्रिया अवलम्बन गर्न एक÷दुई दिनमै छलफल गरिने जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउन तथा अब विद्यालयलाई क्वारेन्टिन नबनाउने निर्णय गरेपछि जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहका सरोकारवालासँग केही दिनमै छलफल गरी सार्न थालिने बताए । उनले भने, ‘एक÷दुई दिनमै छलफल गरी अन्यत्र व्यवस्थित गर्नेबारे निर्णय गर्नेछौं ।’
हाल जिल्लास्थित १३ स्थानीय तहमा ८ सय ५१ शय्याको क्वारेन्टिन व्यवस्थित गरिएको छ । क्वरेन्टिनमध्ये अधिकांश विद्यालयमा व्यवस्थित छन् । हाल तेस्रो मुलुकबाट फर्किएका ६० पुरुष र आठ महिला स्थानीय तहको क्वारेन्टिनमा बसिरहेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टका अनुसार ७ सय ७६ पुरुष र १५५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट ३४० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोस्टले जनाएको छ ।
यसैबीच २८ कारोना संक्रमित काभ्रेलीमध्ये २७ ले कोरोना जितेर घर फर्किएका छन् । पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले कोरोना सङ्क्रमित एकको आइसोलेसनमा उपचार भइरहेको बताए ।
नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।