काठमाडौं– सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दी खुलेको ११ दिनमा संक्रमितको संख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमुना परीक्षण गर्दा २ं८ प्रतिशत (एक हजार ३४५ जना)मा संक्रमण देखिएको थियो । त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १७४ नमुना परीक्षण गर्दा २ हजार ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।
कोराना अद्यावधिक
पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ९ सय ९३ नमुना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कैलालीमा ८९ जनामा संक्रमण देखिएको छ । यस्तै, बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौंमा पाँच÷पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७२.१ (१४ हजार ४९२ जना) प्रतिशत कोरोनामुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ को भोजपुर र संखुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रीय संक्रमित छैनन् ।
सरकारले पिसिआर परीक्षणको संख्या वृद्धि गरेपछि क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या पनि घटेको छ । अब क्वारेन्टिनमा ११ हजार ५२३ रहेका छन् । प्रदेश नं १ मा १ हजार २५४, प्रदेश नं २ मा १ हजार ५७३, बाग्मती प्रदेशमा ८५२, गण्डकी प्रदेशमा २ हजार ९५३, प्रदेश नं ५ मा एक हजार ५३६, कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९२२ क्वारेन्टिनमा छन् ।
हालसम्म ३ लाख ८२ हजार ४९० आरटी–पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक १० हजार नमुना आरटी–पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।