काठमाडौं - कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।
नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।
बाँकेमा हालसम्म कोरोनाबाट दुईको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ । - रासस