झापा– झापाको अर्जुनधारा नगरपालिकाले ५ दिन लकडाउनको घोषणा गरेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलन नदिने भन्दै अर्जुनधारा क्षेत्रमा लकडाउन घोषणा गरेको हो ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आइतबार बिहानदेखि साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि अर्जुनधारा वडा नं १ का एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको नगरप्रमुख हरि रानाले जानकारी दिए ।
उनले सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी नै गरेको जानकारी दिए । लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।
सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् । कर्मचारीले संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ । मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने भएका छन् ।
लकडाउनको समयमा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म सबै प्रकारका व्यापार व्यवसायसञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।