ललितपुर– तलाछें, ललितपुरकी ५२ वर्षीया मीना महर्जनको दैनिकी अरुको भन्दा फरक छ । उनी सबेरै पूजाआजा सकेर मंगलबजारस्थिति तलेजु मन्दिर परिसर पुग्छिन् । पूजाका लागि आवश्यक सर–समान किन्छिन् । चोखो पानी ल्याउँछिन् । मुल पुजा राख्छिन् । उनलाई यहीं काम गर्न ‘लायकु मिसा’का रुपमा नियुक्त गरिएको हो ।
नेवारी भाषामा मिसाको अर्थ महिला र लायकुको अर्थ दरवार हो । यसअघि उनकी सासुले लायकु मिसाको काम गर्थिन् । ससुराको निधनपछि मीना यहाँ नियुक्त भएकी हुन् । उनी २५ वर्षदेखि यहीं काम गरिरहेकी छिन् ।
यो काम बापत उनी वार्षिक ९ हजार ७२ रुपैयाँ अर्थात् दैनिक २५ रुपैयाँ पाउँछिन् । उनले काम सुरु गर्दा वार्षिक १५ सय ७२ रुपैयाँ कमाउँथिन् ।
उनी पैसाका लागि भन्दापनि सन्तुष्टिका लागि काम गरेको बताउँछिन् । लायकु मिसाको रुपमा परिचित उनकोे समुदायमा पनि राम्रो पहिचान छ ।
लायकुमिसा भएकै कारण हरेक वर्ष दशैँको नवमीको दिन तलेजु मन्दिरमा हुने कुमारी पूजाको लागि उनी ललितपुरकी मूलकुमारीलाई कुमारी घरमा लिन जान्छिन् र पूजा गरी कुमारीलाई मन्दिरमा ल्याउँछिन् । २५ वर्षको अवधिमा उनले ५ जना कुमारीलाई बोकिसकेकी छिन् ।
-
-
-
-
-
-