काठमाडौं - दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् ।
कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका हुन् ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो समयमा बढ्दै गएको छ । सोही कारण यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ । यही जुलाई २७ तारिखदेखि यहाँका विद्यालयहरु बन्द भएका हुन् ।
यो बन्द आगामी अगष्ट महिनाको अन्त्यसम्म नै कायम रहने अधिकारीहरुले जनाएका छन् । सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिएका हुन् ।
त्यहाँ आजसम्ममा ५ लाख ११ हजारभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । त्यसैगरी यहाँ ८ हजार भन्दा बढी व्यक्तिको निधन भएको छ । रासस