तनहुँ– बाढीपहिराका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् ।
विस्थापित परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् ।
असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण ती घरपरिवार विस्थापित भएका हुन् । तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ । म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन् । उनीहरुमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ ।
गाउँपालिका–६ का १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो । पानी परिरहेकाले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।
त्यसैगरी, बन्दीपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिराले ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । उनले भने, ‘पूर्ण रूपमा घर क्षति भएकालाई ३० हजार र राहत दिइएको छ ।’ आंशिक क्षति पुगेको घरका धनीलाई दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ ।
यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्रमध्ये २,४,५ र ८ वडामा पहिराले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । नगरपालिकामा मानवीय क्षति नभएपनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिराले पु¥याएको क्षतिको विवरण संकलन गरिएको छ । त्यसैगरी भानुनगरपालिकाको वडा नं २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् ।