काठमाडाैं– प्राणीको जैविक निरन्तरताका लागि खाना अपरिहार्य छ । मानवको हकमा भने यो त्यसका अतिरिक्त संस्कृति पनि हो । त्यसैले ठाउँ र परिवेशअनुसार खानाको प्रकार र खाने शैली नै फरक हुन्छ ।
नेपाल विविधताले भरिएको छ । यहाँको खानपिन संस्कृतिमा पनि उत्तिकै विविधता छ । एउटै समानता के छ भने कृषिप्रधान मुलुक भएकाले अधिकांशको परिकारमा प्रत्यक्ष कृषि उपजको उपयोग बढी देखिन्छ । अर्थात्, धेरै खाद्यान्न सिधै खेतबारीबाट भान्सासम्म पुग्छन् ।
यस्ता खाद्यान्न हाम्रो चाडपर्वसँग जोडिन्छन् । गेडागुडी त्यसैमध्येका एक हो, जसको सम्बन्ध गुन्हिपुन्ही अर्थात् जनैपूर्णिमासँग जोडिन्छ । यसको सम्बन्ध भने कृषि प्रणालीसँग जोडिएको छ । वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने चलन परापूर्वकालदेखि चल्दै आइरहेको छ ।
नेवारी समुदायमा त यो प्रचलनलाई सांस्कृतिक विधिसहित अपनाइएको छ । यस दिन नौ प्रकारका गेडागुडी मिसाएर पकाइएको सुप खाने चलन छ । स्थान विशेषअनुसार गेडागुडीमा भिन्नता हुन्छ तर सांस्कृतिक रूपमा नौ प्रकारलाई मानक मानिएको छ । यसलाई नौ दुर्गाको धार्मिक मिथकसँग पनि जोडिएको पाइन्छ ।
कसरी बनाइन्छ क्वाँटी ?
सामान्यतः भटमास, सिमी, बकुल्ला, केराउ, बोडी, मुङ, चना, मस्याङ र मासलाई एक रात पानीमा भिजाएर राखिन्छ । भोलिपल्ट मलमल कपडामा बाँधेर दुई–तीन दिन राखेपछि टुसा उम्रिन्छ । टुसायुक्त गेडागुडीलाई पानीमा उमाली बाक्लो सुप तयार गरिन्छ । मसला र ज्वानो तेलमा झानेर टुसायुक्त गेडागुडीबाट क्वाँटी तयार गरिन्छ ।
क्वाँटीले के गर्छ ?
क्वाँटीले शरीरमा ताप उत्पन्न गर्छ । वर्षायाममा चिसोका कारण लाग्ने रोगबाट बचाउँछ भने दूषित पानीका कारण लाग्ने रोगव्याधिले कमजोर भएको शरीरलाई तागत दिन्छ ।
वर्षायाममा आवश्यक पोषणयुक्त आहारलाई ध्यान दिएर नेवारी समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन सुरु भएको संस्कृतिविद् ज्ञानकाजी मानन्धर बताउँछन् ।
उनी भन्छन्, ‘खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा छ । नेवारी समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गरिन्छ । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन पनि हो ।’
क्वाँटीका फाइदा
१. रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ ।
२. पाचनशक्तिमा सुधार आउँछ ।
३. मधुमेह नियन्त्रणमा सहयोग गर्छ तर मधुमेह भएकाले चिकित्सक तथा पोषणविद्सँग भने सल्लाह लिन आवश्यक छ ।
४. उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
५. कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ ।
६. शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
७. रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
८. बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोगी हुन्छ ।
९. स्मरणशक्ति वृद्धि गराउँछ ।
१०. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
११. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
१२. बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्याउँछ ।
गेडागुडी सानो तर प्रोटिन र रेसादारयुक्त पदार्थको प्रचुर भण्डारण भएको अनुपम वस्तु हो । सरसर्ती हेर्दा कार्बोहाड्रेट ५५ प्रतिशत, प्रोटिन २१ देखि २६ प्रतिशत र फ्याट १ देखि ४ प्रतिशत गेडागुडीमा पाइन्छ । यसका साथै हाम्रो शरीरलाई आवश्यक खनिज तत्त्व (आइरन, क्यालसियम, म्याग्नेसियम, जिंक, पोटासियम र भिटामिन) यसमा प्रशस्तै पाइन्छ । कम चिल्लो र धेरै रेखादारयुक्त हुँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । गेडागुडीमा विभिन्न खालका रेसादार पदार्थको मात्रा १० देखि ५० प्रतिशतसम्म पाउन सकिन्छ ।
लेक्टिम्स्हरूले विशेष गरी प्रोटिनको पाचन प्रक्रियाका लागि आन्द्राका भित्री छालाबाट प्रोटिन सोसेर लिन सघाउ पुर्याउँछ । गेडागुडीले फस्फरसयुक्त फ्याटिजसँग मिलेर कम्प्लेक्स यौगिक बनाउँछ । यी यौगिकले क्यान्सरसँग लड्ने क्षमता वृद्धि गर्छन् । मानव कोषभित्र हुने डिएनए रिपेयरलगायत विभिन्न प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

सजनलाल स्याउला, वैज्ञानिक, नासा
गुडागुडीमा पाइने फ्याटिजबाट वायु निस्कने समस्या हुन सक्छ । त्यसलाई कम गर्न पानीमा ढड्याएर खान सकिन्छ । यसो गर्दा गेडागुडीको जीवनचक्र सक्रिय हुन्छ र टुसा पलाउँछ । एन्जाइमको गतिविधिमा पनि सक्रियता आउँछ । टुसा पलाएका खाद्य पदार्थ पचाउन पनि सजिलो हुन्छ । त्यसैले टुसा पलाएकै गेडागुडीको क्वाँटी राम्रो हुन्छ । क्वाँटी बनाउँदा ज्वानो झानेर सुपका रूपमा खाने चलन छ । ज्वानो झानेर प्रयोग गर्दा एक प्रकारको विशेष स्वाद र बास्ना आउँछ । ज्वानो विभिन्न तरिकाद्वारा आयुर्वेदिक औषधिमा प्रयोग पनि हुँदै आएको छ । त्यसैले क्वाँटी खाँदै यसको स्वादमा रमाउँदै स्वस्थ बनौं ।