काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सिपिएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो ।
सिपिएल आगामी भदौ २ गतेदेखि सुरु हुँदै छ । ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नुपरेको हो,’ व्यवस्थापक रमन शिवाकोटीले भने ।
यसबीचमा सन्दीपले आफ्नो पिसिआर परीक्षणसमेत गराउनुपर्ने उनले बताए । ‘पिसिआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सिपिएल खेल्न पाइनेछ,’ उनले भने ।