काठमाडौं– साताको पहिलो दिन उच्च अंकको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अंकले बढेर एक हजार ४०३.८६ पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता सेयर १ अर्ब २९ करोड २ लाख २५ हजार २१३ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको सेयर ओरालो लागेको छ ।
जलविद्युत् ३.५५ अंकले घट्दा वित्त ०.८४ र सामूहिक लगानी कोष ०.०६ अंकले घटेका छन् । यस्तै, बैंकिङ ७.०५, व्यापार ९.४४, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बिमा ४६.७१, उत्पादन ८.१५, अन्य ३.८२, लघुवित्त १५.७३ र जीवन बिमा ५८.७८ अंकले बढेका छन् ।
कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो । यस्तै, नेपाल पुनर्बिमा कम्पनीको १० करोड ४ लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको ५ करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको ४ करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको सेयर ३ करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो ।
अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.९२, नेपाल फाइनान्स ९.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.२७ र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले ६.५४ प्रतिशतले कमाए ।
दिव्यश्वरी हाइड्रोपावर प्रालिका शेयरधनीले ६.९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६.५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६.१५, छ्याङ्दी हाइड्रोपावर ५.३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५.३२ प्रतिशतले गुमाए ।