काठमाडौं– बेलायतका दुई महिलाले मिलेर २ सय ६३ दिन, ८ घण्टा ७ मिनेटमा २९ हजार किलोमिटर साइकल यात्राको ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा कीर्तिमानी नाम लेखाएका छन् ।
केट डिक्सन र रेज मार्सडेनले सो इंगल्याण्डको अक्सफोर्डसाइरबाट यात्रा सुरु गर्दै २५ देशको यात्रा गर्दै विश्व रेकर्ड राखेको गिनिजको आधिकारिक ट्वीटरमा उल्लेख गरिएको छ ।
यी दुई महिलाले पुरुष र महिला दुवै क्याटोगोरीमा अरुलाई पछि पार्दै यो रेकर्ड कायम गरेका हुन् । यसअघि यो रेकर्ड २ सय ८१ दिनमा पूरा गर्ने बेलायतकै लायड एडवर्ड कोलिअर र लुइस पालको नाममा थियो ।
उनीहरुले सन् २०१९ को जुन २९ बाट दुई जनाले एकैसाथ चलाउन मिल्ने साइकल यात्रा सुरु गरेका थिए । उनीहरु २०२० को मार्च १८ मा गन्तव्यमा पुगेका थिए ।
५४ वर्षे केट र ५५ वर्षे रेजले एक दिनमा एक सय २५ देखि एक सय ६० किलोमिटरसम्म यात्रा गर्ने गरेका थिए । उनीहरुले यस कामबाट सामाजिक च्यारिटीका लागि करिब ६० लाख रुपैयाँ जुटाएका छन् ।
यसक्रममा उनीहरुले फ्रान्स, मोनको, इटाली, स्लोभेनिया, क्रोएसिया, बोस्निया, तुर्किमिनिस्थान, ग्रीस, जर्जिया, म्यानमार, थाइल्याण्ड, भारत, सिंगापुर, अस्ट्रेलिया, न्यूजील्याण्ड, अमेरिका, मेक्सिको, मोरक्को र स्पेनको यात्रा गरेका थिए ।
#GuinnessWorldRecords #WorldRecords