धेरै वर्षपछि खेतमा दुई गोरु देखिए । ती मेरै भाइहरू जस्ता थिए, मलाई असाध्यै खुसी लाग्यो । म रमाउँदै जोडजोडले कराएँ, ‘ड्वाँड्वाँ ।’ ब्याड काढ्नेहरू रोकिए, आली लगाउनेहरू रोकिए । उनीहरूले मलाई हेर्न थाले । म उसैगरी रमाइरहेकी थिएँ । किलो फुत्त उखेलिएछ । म दाम्लोकिलो घिसार्दै, बुर्कुसी मार्दै खेततिर आएँ ।
एक अधबैँसे रोपारले छेड हान्दै भनिन्, ‘कालीले गोरु खोजेको रहेछ ।’ उनका कुरा सुनेर केही तरुनी रोपार लाजले भुतुक्क भए, शिर निहुराएर खितखित हाँस्न थाले । बाउसेहरू गलल्ल हाँसे । तिनै अधबैंसे रोपारले भनिन्, ‘बैँसमा सबैलाई यस्तै हुन्छ ।’
‘यसले त गोरु देख्नै हुन्न, कराएर दिक्क पार्छ,’ उदयकुमारी बोलिन् । उनी मेरी साथी हुन् । उनीसँग मैले धेरै बात मारेकी छु । उनी मलाई बारम्बार बैँसले उन्मत्त भएको आरोप लगाउँछिन् । आज म उनको आरोप शिरोधार्य गर्ने पक्षमा छैन । मैले यो खेतमा हाते ट्याक्टरले जाेतेकाे देखेकी थिएँ । आजै गोरु देखेकी हुँ । यी मेरा भाइ जस्ता छन् । रङ मिल्छ, शरीर मिल्छ । म उनीहरूसँग अंकमाल गर्न चाहन्छु । म भाइहरु नजिक पुगेकी थिएँ ।
‘काकी कोरलीलाई बाली लगाइदिनू,’ एक रोपारले भनिन् ।
‘बाली लगाएर के गर्नु, बाछाबाछी हुन्छ, मैले कसरी पाल्ने ? बरु कसैले लगिदिए हुन्थ्यो,’ उदयकुमारीले भनिन् । मलाई नरमाइलो लाग्यो ।
मलाई अझै भाइहरूको सुगन्ध याद छ । मैले उनीहरूलाई सुँघेर जाँच गर्दै थिएँ । कसैले मलाई पिठ्युँमा लट्ठीले हिर्कायो । म बुरुक्क उफ्रिएँ । दुई युवकले लट्ठीले हिर्काउँदै मलाई गोठतिर लघार्न थाले । एउटाले दाम्लो समायो, अर्काले किला दह्रो गरी ठोक्यो । म उनीहरुबाट उम्कन खोजें, सकिनँ । म किलामा बाँधिएँ । चित्त फाट्यो । मैले भाइहरुलाई चिनें, उनीहरुको सुगन्ध चाखें । म फेरि उसैगरी कराएँ, ‘ड्वाँड्वाँ ।’ सायद भाइहरूले पनि मलाई चिने क्यारे, उनीहरू पनि खुसीले कराए ।
एक युवक हात फिँजाएर नाच्न थाले । उनले भने, ‘गाई–गोरुको जुहारी सुरु भयो, हामी नाँचौं ।’
‘यसरी राख्नुभन्दा त कोरलीलाई फुकाएर छाडिदिनुस् काकी,’ ती अधबैंसे रोपारले सल्लाह दिइन् ।
‘फुकाएर छाडिदिए अरूको अन्नबाली नोक्सान गर्ला । बरु भरपर्दो मान्छे पाए त यसलाई पठाइदिन्थें,’ उदयकुमारी बोलिन् ।
भाइहरूलाई दिनभर जोतियो । मैले उनीहरूको पौरख हेरिरहेँ । तर, मनमा क्रोधको मुस्लो थियो । फेरि किलो उखेलेर जाऊँ जस्तो लाग्यो । बल गरें, सकिनँ । बेलाबेलामा एक अर्कालाई बोलाइरह्यौं ।
०००
- ‘काठमाडौंमा सडक-सडकमा गाईलाई छाडा छोडिएको छ । गाई सित्तैमा पाइन्छ,’ उदयकुमारीले भनिन् ।
उदयकुमारीले हामीलाई काठमाडौंबाट ल्याएकी हुन् । हामीसँगै अरू चार गाई थिए । हाम्रा मालिक असाध्यै मनकारी थिए । उनले हामीलाई असाध्यै माया गरेका थिए । पछि पछि उनी कोही मान्छे भेट्नेबित्तिकै भनिहाल्थें, ‘बुढो भइयो, गाई पाल्नै गाह्रो भयो । घाँसपात पनि पाइन छाड्यो । भरपर्दो मान्छे पाए त सबै गाई पठाइदिन्थें । मै बाटाखर्च पनि दिन्थें ।’
उनका कुरा सुनेर हामी सशंकित हुन्थ्यौं । सोच्थें, मलाई आमाबाट छुट्याइदिने पो हुन् कि । एक दिन उदयकुमारीले मेरी आमालाई देखाउँदै भनिन्, ‘मलाई यो गाई मन पर्याे ।’
उनले मेरी आमालाई सुमसुम्याइन् । मलाई अँगालोमा बेरिन् र चुम्मा खाइन् । मलाई अनौठो लाग्यो ।
बिहान भएको थियो । हामीले भर्खर खोले खाएका थियौं । उनी हामीकहाँ आइन् । उनले मेरी आमालाई किलाबाट छुट्याइन् । मलाई खासै बाँधिएको थिएन । म कहिलेकाहीँ खुब चकचक गर्थें । त्यतिबेला मलाई बाँधिन्थ्यो ।
उदयकुमारीले आमालाई डोर्याउन लागिन् । उनले कहाँ लैजान लागिन्, कुनै पत्तो थिएन । आमासँगै भएकाले मलाई खासै डर लागेन । भिनाजुले उनलाई बाटाखर्च भनेर एक हजार दिएको मैले देखें । उनले मेरी आमालाई डोर्याइन्, म आमाको पछि पछि हिँडें, उफ्रिएँ ।
उदयकुमारीले आमालाई बाटामा पानी खुवाइन्, मीठामीठा घाँस दिइन् । दुई दिनपछि नयाँ गोठमा राखिन् । उनले मलाई पनि दाम्लोले बाँधिदिइन् ।
केही तरुनी केटीहरू आए । उनीहरूले हामीलाई सुमसुम्याए । केही बेरपछि घाँस ल्याएर दिए, खोले ल्याएर दिए । एक तरुनीले उदयकुमारीलाई सोधिन्, ‘आमा, कहाँबाट ल्याउनुभयो ?’
‘भिनाजुको घरबाट ल्या'को,’ उदयकुमारीले भनिन् ।
‘कतिमा ल्याएको ?’
‘सित्तैमा । काठमाडौंमा सडक सडकमा गाईलाई छाडा छोडिएको छ । गाई सित्तैमा पाइन्छ,’ उदयकुमारीले भनिन् ।
मलाई अचम्म लाग्यो, हामीलाई पैसामा किनबेच गरिँदो रहेछ । हामी जस्ता धेरै गाईवस्तुलाई छाडा छोड्ने गरेको सुन्दा नरमाइलो लाग्यो । तिनीहरु कहाँ बस्दा हुन्, के खाँदा हुन् भनेर जान्न मन लाग्यो । आमालाई सोधूँ कि भनेर शिर उठाएको थिएँ । उदयकुमारीले एक मुठो घाँस मेरो मुखमै हालिदिइन् । यसपछि प्रश्न सोध्नै बिर्सिएछु ।
यहाँ काठमाडौँमा भन्दा तागतिला खानेकुरा खाने पाइएको थियो । उदयकुमारीका छोरीहरूले हामीलाई वन लैजान्थें । म आमासँग लुकामारी खेल्थें । कहिलेकाहीँ आमा जानी जानी लुक्नु हुँदो रहेछ । आमालाई कतै नदेख्दा म आत्तिन्थें । यताउति खोजिरहन्थेँ । म आत्तिएको देखेर आमा आफैँ बोलाउनुहुन्थ्यो । म रिसाउँथें ।
एक दिन उदयकुमारीका छोरीहरूले आमालाई खोलापारि लगे । म कराएँ, मलाई लग्दै लगेनन् । दुई–तीन घण्टापछि आमा आइपुग्नुभयो । मैले आमालाई सोधें, ‘कहाँ लगे ?’
आमा बोल्नुभएन । उहाँले शिर निहुराउनुभयो । मैले केही भेउ पाइनँ । म आमासँग रिसाएँ । उहाँले भन्नुभयो, ‘धेर चियोचर्चो नगर् त, खुरुखुरु घाँस खा ।’
केही महिनापछि आमाले भाइ पाउनुभयो । ऊ निकै सुन्दर थियो । म ऊ नजिक गएको थिएँ । आमाले थुतुनोले मलाई हिर्काउनुभयो । उहाँले निकै बेर भाइलाई चाटिरहनुभयो । उसको जिउमा राता भुत्ला थिए ।
- केही दिनपछि जंगलमा अंकलसँग भेट भयो । उहाँले भन्नुभयो, ‘कति राम्री छोरी । बैंसमा यसका अगिपछि कति हुन्छन् कति ।’
केही दिनपछि उदयकुमारीले उसलाई ‘राते’ भनेर बोलाइन् । म पनि उसलाई ‘राते भाइ’ भनेर बोलाउन थालें । म उसलाई चुम्मा गर्थेँ । ऊ फिस्स हाँस्थ्यो ।
केही महिनापछि हामी उसलाई गोठमै छाडेर वन जान थाल्यौं । साँझ गोठ फर्कन्थ्यौं ।
जंगलमा एक दिन आमासँग नौलो गोरु देखें । गोठ फर्कने क्रममा आमालाई सोधें, ‘को हुन् आमा ?’
‘तँलाई किन चाहियो ?’ आमाले हकार्नुभयो ।
‘भन्नू न, को हुन्,’ मैले जिद्दी गरें ।
‘तेरो अंकल हुन्,’ आमा मुसुमुसु हास्नुभएको थियो ।
केही दिनपछि जंगलमा अंकलसँग भेट भयो । उहाँले भन्नुभयो, ‘कति राम्री छोरी । बैंसमा यसका अगिपछि कति हुन्छन् कति ।’
म उहाँको कुरा बुझ्दिनथें तैपनि हाँसिरहन्थें । उहाँसँग हाम्रो भेट बारम्बार हुन्थ्यो । म चर्दै जाँदा आमा हराउनुहुन्थ्यो । म अत्तालिँदै उहाँलाई खोज्थें । आमालाई अंकलसँगै बात मार्दै चरिरहेको भेट्थें ।
केही वर्षपछि आमाले अर्को भाइ पाउनुभयो । ऊचाहिँ झन् बलियो थियो । केही महिना हामी गोठमै बस्यौं ।
हामी तीन जंगल जान थालेका थियौं । कान्छो भाइ भने गोठमै बस्थ्यो । कहिलेकाहीँ ढिला हुँदा ऊ खुब रिसाउँथ्यो । आमालाई खुब दुःख दिन्थ्यो ।
कान्छो भाइ हलक्क बढ्यो । ऊ जेठो भाइ जत्रै भइसकेको थियो, दुवै बहर भइसकेका थिए । एक दिन हाम्रो गोठमा केही नौला मानिस आए । उनीहरूले उदयकुमारीसँग कुरा गरे । ‘दिदी बहर बेच्ने हो ?’ एक जनाले भन्यो ।
‘सानै छ, के बेच्नु ?’ उदयकुमारीले भनिन् ।
‘तपाईंको घरमा हली नै छैन, राखेर पनि के गर्नुहुन्छ ? एक दिन बेच्नैपर्छ । हामी यिनीहरुलाई दाउँदै गर्छौं,’ उनले पैसाको बिटाे निकाले । आमाका काना निकै ठाडा भए ।
उनीहरूबीच केही बेर कुराकानी भयाे । ती मानिसले उदयकुमारीलाई पैसा दिए । उदयकुमारीकी एक छोरीले मेरा दुवै भाइको दाम्लो फुकाइदिइन् । यसपछि उनीहरूले मेरा दुवै भाइलाई लिएर गए । भाइहरू रुँदै गए, आमा धेरै रुनुभयो । मैले पनि आँसु थाम्न सकिनँ । दिन कस्तो खल्लो लाग्यो । वन जान पनि मन लागेन ।
आमा मन लागी नलागी वन जानुहुन्थ्यो । ममा नि खासै उत्साह थिएन । तैपनि वन जानैपर्थ्याे । एक दिन आमा वनमै हराउनुभयो । मैले सारा संसार खोजें, भेटिनँ । अनि रुँदै घर आएँ । उदयकुमारी मनजिक आइन् र भनिन्, ‘खोइ त आमा ?’
मैले मुन्टो हल्लाएर आँखाभरि आँसु पार्दै आमा हराउनुभएको संकेत गरे । उनी हडबढाइन् । जंगलतिर हेरिन् र घरतिर कुदिन् ।
रातभरि आमाको बाटो हेरें । आमा आउनुभएन । कता कता डर पनि लाग्यो । जाडो पनि भयो ।
भोलिपल्ट बिहान उदयकुमारी आइन् । मलाई घाँस दिइन् । मेरो ढाड मुसार्दै भनिन्, ‘काली एक्लै भइस् । तेरी आमालाई बाघले खायो त होला नि ।’
म घाँस खाँदा खाँदै रोकिएँ । उनले भनिन्, ‘खोल्सामा रगत भेटियो । तेरै आमाको होला ।’
म पिलपिल रोएँ, उनी पनि टाउकामा हात राखेर मलाई एकोहोरो हेरिरहिन् । धेरै दिन आमाको प्रतीक्षा गरें । आमा कहिल्यै आउनुभएन ।
- म कोरली भइसकेकी थिएँ । कताकता काउकुती लागेर आउँथ्यो । कहिलेकाहीँ नौला मानिस आउँथे, मलाई सुमसुमाउँथे । अनि बिस्तारै मेरो सुत खेलाउँदै भन्थे, ‘मुतीमुती गाई माली बाछी पाई ।’
उदयकुमारीका छोरीहरू मकहाँ कमै आउन थालेका थिए । हिजोआज उनीहरू आउन छाडेका थिए । एक दिन उदयकुमारी रुँदै भन्दै थिइन्, ‘म पनि एक्लो भएँ । छोरीहरू सबै बिहे गरेर गए ।’
मैले उनलाई हेरें, उनको आँखाभरि आँसु थियो । मैले उनको हात चाटेर सान्त्वना दिएँ । उनी झन् रोइन् । ‘अब तेरो साथी म, मेरो साथी तँ,’ उनले भनिन् ।
मैले सहमतिमा टाउको हल्लाएँ । उनी बिहान र बेलुका मकहाँ आउँथिन् । मसँग बात मार्थिन् । घाँस दिन्थिन्, खोले दिन्थिन् । मलाई असाध्यै माया गर्थिन् ।
उनको टाउको सेताम्मे भइसकेकाे थियो । बसेर उठ्ने बेलामा लामो श्वास फेर्थिन् । ‘ऐया ऐया’ भनिरहन्थिन् । कहिलेकाहीँ भन्थिन्, ‘अब त उकालो ओरालो गर्न पनि गाह्रो भयो । तँलाई घाँसखोले गर्न बेँसी आउन नसक्ने भएँ । तँभन्दा अघि भए भने तेरो बिजोग हुने भयो ।’
म उनको कुरा बुझ्दिनथेँ । पछि पछि त उनी दिन बिराएर आउँथिन् । दिनभर मसँग बात मार्थिन् । म उनको हात, खुट्टा र गाला पालैपालो चाटिदिन्थें । उनी खुसी हुन्थिन् । कुरै कुरामा भन्थिन्, ‘मान्छेहरूले गाई पाल्नै छाडे । गाेरू मात्र खाेजेर हुन्छ र ?’
कहिलेकाहीँ मकहाँ नौला मानिस आउँथे । घाँस दिन्थे, अनि केही नबाेली हिँड्थें । गोबरको थुप्रोमा बस्नुपरेकाले जिउ डुङडुङ गनाउन थालेको थियो, खुब घिन लाग्थ्यो ।
उदयकुमारी रुँदै आउँथिन् । भन्थिन्, ‘तेरो बिजोग हुने भयो । म तेरो स्याहार सुसार गर्नै नसक्ने भएँ । के गर्छेस् काली । तँलाई लिन कोही आउँदैनन् त ।’
म कोरली भइसकेकी थिएँ । कताकता काउकुती लागेर आउँथ्यो । कहिलेकाहीँ नौला मानिस आउँथे, मलाई सुमसुमाउँथे । अनि बिस्तारै मेरो सुत खेलाउँदै भन्थे, ‘मुतीमुती गाई, माली बाछी पाई ।’
म लाजले भुतुक्क हुन्थें । र, तुरुक्क मुतिदिन्थें । मेरो मुत गिलासमा थाप्थे । खुसी हुन्थे ।
एक दिन उदयकुमारीले मलाई सुमसुम्याउँदै भनिन्, ‘यसले त सेप निकालिछ । बेला पनि भयो । तँलाई गोरु चाहिएछ ।’
म उनको आँखामा हेर्थें । उनी फतफताइरहन्थिन्, ‘यसलाई बाली लगाएर के गर्नु । बाछाबाछी हुन्छन्, कसरी स्याहार्नु ? बरु भरपर्दो मानिस पाए यसलाई जिम्मा लगाएर आनन्दले मर्थेँ ।’ उनका कुरा सुन्दा सारै नरमाइलाे लाग्थ्यो ।
मान्छेहरू ‘खसी र नयाँ लुगा’का कुरा गर्थे । घरीघरी भन्थे, ‘कोरोनाले दसैं मान्न नदिने भयो । साह्रै खल्लो हुने भयो यसपालिको दसैं । मलाई लाग्यो– दसैं आउनै लागेछ । दसैंमा मानिसको यस्तै चहलपहल देखेकी थिएँ ।
उदयकुमारी केही मानिस लिएर आइन् । मलाई सुमसुम्याइन् र रुँदै भनिन्, ‘काली, अब तेरो गोठ फेरिने भयो । मभन्दा उहाँहरूसँग तँलाई राम्रो हुन्छ । आजबाट उहाँहरुसँग बस्छेस् ।’
मलाई यो गोठ छाड्नै मन लागेको थिएन । म ड्वाँड्वाँ गरिरहें । उनी सिँगान पुछ्दै रोहिरहिन् । उनीहरुले मलाई किलाबाट छुट्याए र मलाई डोर्याउन थाले । मलाई कहाँ लग्ने हुन्, पत्तो छैन । तर, डरभन्दा पनि उनको माया लाग्यो । फर्कीफर्की उनलाई हेर्दै कराएँ, उनी घोप्टो परिन् । म उनीहरूको पछि पछि लागे ।