काठमाडौं- मंगलबार राति काठमाडौंबाट देखिने आकासमा निरन्तर विनाआवाज बिजुली चम्कियो । यो प्राकृतिक प्रक्रिया हो या कुनै अनिष्टको संकेत हो भन्ने जिज्ञासा फैलिएको छ ।
यो प्राकृतिक प्रक्रिया भएकोले आत्तिनु नपर्ने विज्ञहरू बताउँछन् । प्रविधिमैत्री शिक्षक समाज, सिन्धुपाल्चोककी उपाध्यक्ष सरिता काफ्लेका अनुसार यसलाई ‘हिट लाइटनिङ' अर्थात ताप बिजुली भनिन्छ ।
‘प्रायः वर्षा याममा हावामा आद्रता (ह्युमिडिटीस, पानीको मात्रा) धेरै हुन्छ र दिनको समयमा वर्षा नभएको कारणले तापक्रम उच्च हुन पुग्छ । तब साँझ पखको तल्लो सतहको वायुको घनत्व घटेको कारण छिटो–छिटो माथि जान थाल्दछ र यो क्रममा हावाको कणहरूबीच अत्यधिक घर्षण हुन्छ । जसले गर्दा विद्युतीय चार्ज उत्पन्न हुन पुग्छ’, उनी भन्छिन्, ‘तर यो चार्ज थोरै भोल्टेजको हुन्छ । जस्ले ठुलो विद्युतीय चार्जयुक्त चट्याङ भन्दा पनि झिलिक्क–झिलिक्क उज्यालो प्रकाश देखिन्छ ।’
आज काठमाडौंमा दिउँसो अत्यधिक गर्मी भएको र हावामा आद्र्रता धेरै भएको कारण त्यसबाट उत्पन्न चार्ज समुद्री सतहभन्दा ११ किलोमिटर भन्दा माथि ‘स्ट्र्याटोस्फियर’ तहमा पुगेको हुँदा ‘हिट लाइटनिङ’ देखिएको उनी बताउँछिन् ।
उनका अनुसार यो चट्याङको हानी थोरै वा नगण्य मात्र हुन्छ । पृथ्वीको सतहभन्दा धेरैमाथि बिजुली चम्किने हुँदा अवाज नसुनिने उनले बताइन् । यो प्रक्रिया प्राकृतिक भएकाले कुनै अचम्म, अनिष्ठ वा चमत्कार नभएको प्रष्ट पार्दै उनले यसलाई सामान्य मौसमी प्रक्रियाको रूपमा लिन आग्रह गरिन् ।