१७ असोज २०७४ सालमा काठमाडौंको राष्ट्रिय सभागृहमा तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन गठनबन्धनको घोषणा भयो । एक हप्तामै गठबन्धनबाट नयाँ शक्ति बाहिरियो । तर, एमाले र माओवादी केन्द्रबीचको गठबन्धन निर्वाचन हुँदै पार्टी एकतासम्मका लागि थियो, जुन एकता भयो ।
गठबन्धन भएको ९ महिनापछि एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ सालमा एकता भयो । एकता हुँदा नेता–कार्यकर्तामा उत्साह थियो । एकताको घोषणा सभामा अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘यो टेम्पु हो र एक जना मात्र ड्राइभर हुनलाई ? यो त जेट विमान हो, जसमा दुई पाइलट चाहिन्छ ।’
त्यस्तै, प्रचण्डले भनेका थिए, ‘हाइड्रोजन र अक्सिजन लिएपछि पानी बन्छ, पानी बनेपछि छुट्याउन सकिँदैन, अब न एमाले भेटिन्छ न माओवादी भेटिन्छ । अर्कै कम्पाउन्ड बनिसक्यो ।’
एकताको धरातलै कमजोर
पार्टी एकता भए पनि दुवैको पृष्ठभूमि फरक फरक छ । अर्थात्, एमाले र माओवादीको स्कुल फरक फरक छ । एक पार्टी लामो संसदीय अभ्यासबाट आएको छ, अर्को पार्टी सशस्त्र विद्रोह गर्दै शान्ति प्रक्रियामा आएको हो । एक पार्टीले माक्र्सवाद र लेनिनवाद मान्थ्यो, अर्को पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवाद मान्थ्यो । शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि यी दुवै दल आमनेसामने भएका थिए । एकले अर्कोलाई सिध्याउन धेरै कोसिस गरे । तर, कसैले कसैलाई सिध्याउन सकेनन् ।
राजनीतिक विश्लेषकले एमाले–माओवादी केन्द्रको एकतालाई ‘अपवित्र एकता’को संज्ञा दिएका छन् । तर, नेकपाका नेताहरू यस संज्ञा सहर्ष स्वीकार गर्न तयार छैनन् । दुवै दलको सांगठनिक ढाँचा र विचार मिल्दैनथ्यो तैपनि एकता भयो । एमाले संसदीय अभ्यासमा प्रवेश गरेसँगै कमिटीका सम्मेलन र महाधिवेशनमा पनि निर्वाचन प्रक्रियाको अभ्यास गरियो । तर, माओवादीले लामो समय पार्टी कमिटीका अधिवेशन र महाधिवेशन गरेको थिएन ।
अस्तव्यस्त थियो माओवादी
एकीकृत नेकपा माओवादीले बल्लबल्ल आफ्नो सातांै राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटाैंडामा माघ २०६९ सालमा गरेको थियो । त्यो महाधिवेशनमा निर्वाचन प्रक्रिया अवलम्बन गरिएन । महाधिवेशनबाट प्रचण्डलाई फेरि अध्यक्षमा चयन गरियो । हेटाैंडामा ९७ जना केन्द्रीय सदस्य मनोनयन भए पनि शपथ नै खुवाइएको थिएन, जसमा १ सय ५१ जना केन्द्रीय सदस्यमा बाँकी रहेकालाई काठमाडौं फर्केपछि चयन गरिएको थियो । नेतृत्वबाटै केन्द्रीय सदस्य मनोनीत भएका थिए ।
माओवादीले राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्दै ०५२ सालदेखि सशस्त्र विद्रोह सुरु गरेको थियो । सशस्त्र विद्रोह सुरु गर्दा एमाले माले कालको सशस्त्र विद्रोह बिसाएर संसदीय राजनीतिको खप्पिस खेलाडी भइसकेको थियो । ०३५ सालमा माले बनेको थियो । ०४७ सालमा माले र माक्र्सवादीबीच एकता भएर एमाले बनेको थियो, जुन एमाले बहुदलपछि संसदीय राजनीतिको प्रमुख खेलाडीमध्ये एक थियो ।
माओवादी भने एकता केन्द्र हुँदै माओवादी बनेको थियो । एमाले–माओवादी एकताका लागि पहिले पनि प्रयास गरिएको थियो । तर, केही विषयमा सहमति नहुँदा एकता हुन सकेको थिएन ।
सिद्धान्तले होइन, स्वार्थले मिलायो
अन्ततः दुई पार्टीबीच एकता भयो । एकता हुनुमा वैचारिक, सैद्धान्तिक कारणभन्दा सत्तामोह बढी भएको आरोप लगाइन्छ । नेकपाका पछिल्ला गतिविधि र कामले यसलाई झनै प्रस्ट पारेको छ । नेकपाको सरकारले जनताका दैनिक कामका लागि सहज वातावरण सिर्जना गर्न सकेन । राजनीतिक विश्लेषक राजेन्द्र महर्जन व्यक्ति पोस्नका लागि मात्र एकता भएको तर्क गर्छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा ठूलो पार्टी बनेको माओवादी दोस्रो संविधानसभाको निर्वाचनबाट तेस्रो पार्टी बन्यो । तेस्रो पार्टी बनेको एमाले दोस्रो पार्टी बन्यो । दुवै कम्युनिस्टको जनमत जोड्दा कांग्रेसको भन्दा बढी थियो । तर, यी पार्टी अलग अलग हुँदा कांग्रेस नै पहिलो पार्टी बन्यो ।
स्थानीय तहको निर्वाचनमा दुवै पार्टी आ–आफ्नै तरिकाले लडे । एमाले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भयो । तर, माओवादी–कांग्रेसले केही स्थानमा गठबन्धन गरे, जुन खासै प्रभावकारी भएन । चितवनमा तत्कालीन माओवादी अध्यक्ष छोरी रेणु दाहाललाई निर्वाचन जिताउन सफल भए । दाहालले निर्वाचन जितेपछि एमाले डरायो । एमालेलाई सरकारको नेतृत्व गुमाउने डरले भित्रभित्रै सताउन थाल्यो ।
- कोरोना भाइरसको महामारी छ । बाढीपहिरोले नागरिक पीडामा छन् । तर, नेकपामा को अध्यक्ष र को प्रधानमन्त्री हुने भन्नेमा नै संघर्ष जारी छ ।
स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भए पनि एमालेले राष्ट्रिय निर्वाचनमा माओवादी र कांग्रेस मिलेर सरकार बनाउन सक्ने आँकलन गरेपछि यो गठबन्धन गरिएको थियो । माक्र्सवादको विकास र समाजवादका लागि नभएर सत्तामा पुग्न र आफ्नो दुनो सोझ्याउन एकता गरिएको थियो ।
महर्जनले भने, ‘कम्युनिस्टहरूमा सिद्धान्तः हुने एकता संघर्ष पार्टी जीवन, पद्धति, विधिविधान र विचारका लागि हो । तर, नेकपाको एकता सत्ताका लागि मात्र भएको हो । जुन कुरा व्यवहारले नै देखाएको छ । कोरोना भाइरसको महामारी छ । बाढीपहिरोले नागरिक पीडामा छन् । तर, नेकपामा को अध्यक्ष र को प्रधानमन्त्री हुने भन्नेमा नै सत्ता संघर्ष जारी छ ।’
निर्वाचनताका पार्टीहरू एक–अर्कालाई पछार्ने रणनीतिमा थिए । जसरी पनि सरकार बनाउनुपर्ने बाध्यता भए एमाले बहुमत ल्याउन सक्ने अवस्थामा थिएन । अन्य ठूला दल कांग्रेस र माओवादी पनि त्यही अवस्थामा थिए । तर, कांग्रेस र माओवादी मिलेमा एमालेको सरकार बनाउने चाहना पूरा नहुने अवस्था थियो । त्यसपछि एकाएक नाटकीय रूपमा एमाले माओवादीसँग निर्वाचनका लागि गठनबन्धन ग¥यो, जुन गठबन्धन एकताको सूत्रधार बन्यो ।
माओवादीको आफ्नै दाउ
माओवादी स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा झरेको थियो । पहिलो संविधानसभामा पहिलो बनेको माओवादी विभाजनको मारमा परिसकेको थियो । दोस्रो संविधानसभा हुँदै स्थानीय निर्वाचन पछि माओवादीको अवस्था निकै कमजोर भएको थियो । माओवादीबाट सरकार नेतृत्वको कल्पना गरिएको थिएन । आफ्नो साख जोगाउनै धौधौ भएको थियो । यस्तो अवस्थामा गठबन्धन गरेर पार्टी एकता गर्नु माओवादी केन्द्रका लागि धेरै राम्रो अवसर थियो ।
- नेकपाको दृष्टि सत्ताभन्दा पर छैन । चिन्तन र व्यवहार सत्ता वरिपरि नै छ । दर्शन र विचारले एकता भएको होइन । सत्ताका लागि एकता भयो, त्यसैका लागि लुछाचुँडी जारी छ ।
माओवादीलाई कांग्रेसभन्दा कम्युनिस्ट पार्टीसँग मिल्दा बढी फाइदा हुन्थ्याे, उसले यो अवसर गुमाउन चाहेन । दुवै पार्टीबीच विचार र सिद्धान्तभन्दा पनि सत्ताको हिसाब–किताबले एकता भएको महर्जनको दाबी छ ।
उनले भने, ‘नेकपाको दृष्टि सत्ताभन्दा पर छैन । चिन्तन र व्यवहार सत्ता वरिपरि छ । दर्शन र विचारले एकता भएको होइन । जेका लागि एकता भयो, त्यसैका लागि लुछाचुँडी जारी छ ।’
संसदीय राजनीति
एमाले संसदीय राजनीतिमा माओवादीभन्दा पुरानो कम्युनिस्ट पार्टी हो । यसले ०५१ सालको निर्वाचनपहिले र पछि कांग्रेसलाई उछिन्न सकेन, ०५१ सालमा ठूलो पार्टी भए पनि बहुमत ल्याउन सकेन । बहुमत नल्याउँदाको पीडा एमालेले सरकार बनाएको ९ महिनामै भागेको थियो । संसदीय राजनीतिमा ढंग नपुर्याउँदा माओवादीले बल्ड्याङ खाइसकेको थियो । उसलाई आफ्नै साख बचाउन धौधौ भएको थियो ।
दुवै कम्युनिस्ट पार्टी संसदीय अभ्यासमा लागेपछि फरक फरक अस्तित्वको कुनै अर्थ थिएन । दुवै पार्टी एउटै अभ्यासमा सहभागी हुँदा तेस्रो पक्षले बढी फाइदा उठाउने सम्भावना थियो । यस्तो अवस्थामा दुवै पार्टी मिल्दा बहुमत आउने र सरकारको नेतृत्व हात पार्न एकता भएको लेखक युग पाठक बताउँछन् ।
एक अर्कालाई सिध्याउने खेल
एमाले र माओवादीबीच सशस्त्र विद्रोहको समयमै एकले अर्कोलाई दुस्मनको व्यवहार गरिन्थ्यो । कैयांै कार्यकर्ताले दुस्मनीकै कारण ज्यान गुमाएका थिए ।
शान्ति प्रक्रियामा आएपछि दुवै पार्टीका भातृसंगठन वाइसिएल र युवा संघ अथवा युग फोर्सबीच धेरै लडाइँ भए । वाइसिएलसँग भिड्न नै एमालेले युथ फोर्स बनाएको थियो । तर, एकले अर्को पार्टीको अस्तित्व मेटाउन सकेनन् ।
विचार, दर्शन र आदर्श बाँकी नरहेपछि त्यतिबेला दुवै पार्टी मिल्नुको विकल्प नभएको पाठक बताउँछन् । पाठक भन्छन्, ‘निर्वाचन जित्न र सत्तामा पुग्न एकता भएको हो । विचार, दर्शन र आदर्शको जगमा एकता भएको भए यतिबेलासम्म वैचारिक आधार तयार हुन्थ्यो, सांगठनिक आधार हुन्थ्यो । तर, अहिलेसम्म केही
छैन । पदका लागि लडाइँ मात्रै भएको छ ।’
‘क्याडर’ बेसभन्दा मासबेस पार्टी
कम्युनिस्ट पार्टी ‘क्याडर बेस’मा आधारित हुन्छन् । तर, नेपालका दुवै कम्युनिस्ट पार्टी बिस्तारै क्याडर बेसबाट मास बेस पार्टीमा रूपान्तरण हुँदै गए । अन्ततः दुवैको उद्देश्य र लक्ष्य एउटै भएपछि एकता भएको हो । तर, नेकपाका नेता भने विचार, सिद्धान्त र उद्देश्य मिलेपछि पार्टी एकता भएको बताउँछन् ।