काठमाडौं– बलात्कृत बालिकाको पीडालाई समेटेर तयार पारिएको गीत तथा म्युजिक भिडियो ‘बदला बरिलै’ अहिले निकै चर्चित एवं लोकप्रिय छ । युट्युबमा अपलोड भएको केही दिनमै ट्रेन्डिङमा पर्न सफल उक्त गीतमाथि अधिकांश युजरले टिकटक बनाएका छन् ।
तीजलक्षित गीतमा प्रयोग भएको शब्द निकै मार्मिक छ । गायिका देवी घर्तीको स्वरमा सजिएको गीत निकै कर्णप्रिय एवं मर्मस्पर्शी छ । गीतमा संगीत पनि उत्तिकै मर्मस्पर्श हुने गरी भरिएको छ ।
गीतसँगै म्युजिक भिडियो निर्माणमा पनि निकै मेहनत गरिएको छ । करिब १५ मिनेटको म्युजिक भिडियोमा बालिकाको बलात्कारपछि हत्या भएदेखि बलात्कार गर्नेको पनि मृत्यु भएको कथा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा गायिका बन्ने सपना साँचेकी एक बालिकालाई सांगीतिक कार्यक्रमका प्रमुख अतिथिले नै बलात्कारपछि हत्या गर्छन् । यथेष्ट प्रमाण हुँदा पनि प्रशासनले बलात्कारीलाई कारबाही गर्दैन । र, समयान्तरमा बालात्कार गर्नेले पनि बदलास्वरुप कारबाही भोग्छ । गीतको खास कथा यही हो ।
एक वर्ष लाग्यो बनाउन
‘छोरी भएर जन्मनु अभिशापै हो भने बरिलै नजन्माइदेउ सृष्टिले ...’ जस्ता मार्मिक शब्दमा सजिएको उक्त गीत तथा म्युजिक भिडियो निर्माण गर्न गायक प्रकाश सपूतलाई करिब एक वर्ष लाग्यो । देशमा बलात्कार एवं महिला हिंसाका घटना बढेसँगै उनलाई यस प्रकारको गीत लेख्न मन लागेको हो । यसैकारण उनले एक वर्षअघि ‘बदला बरिलै’ रचना गरे ।
अघिल्लो वर्षको तीजमा नै उनी यो गीत बजारमा ल्याउन चाहन्थे । तर, गीतका सबै हरफ पूरा गर्न सकेनन् । त्यसपछि थप मेहनत गरेर उनले गीतका शब्द लेखिसके । ‘यो गीत लेख्न धेरै सोचें,’ उनी भन्छन्, ‘तर गीत तीजछेका नै बजारमा ल्याउनुपर्छ जस्तो लागेको थियो ।’
- ‘विभेद हुँदा पनि महिलाले न्याय नपाएको सत्यले मनमा घोचिरहन्थ्यो,’ उनी भन्छन्, ‘प्रत्येक घटनाका दृश्यलाई सम्झँदै शब्द लेखें, शब्द लेख्दै गर्दा टुक्का र लयमा धेरैपटक बिथोलिएँ ।’
उनी तीजगीतको पुरातन मान्यतालाई तोड्न चाहन्थे । सामाजिक विषयवस्तुमाथि नै गीत तयार गर्न चाहन्थे । तीज नारीका लागि विशेष पर्व भएकाले नारीकै विषयमा गीत बनाउने योजना बनाए । र, उनले समाजमा बढ्दो बलात्कार एवं महिला हिंसालाई आफ्नो गीत तथा म्युजिक भिडियोको विषय बनाए ।
‘विभेद हुँदा पनि महिलाले न्याय नपाएको सत्यले मनमा घोचिरहन्थ्यो,’ उनी भन्छन्, ‘प्रत्येक घटनाका दृश्यलाई सम्झँदै शब्द लेखें, शब्द लेख्दै गर्दा टुक्का र लयमा धेरैपटक बिथोलिएँ ।’
प्रत्येक टुक्का लेख्दा मुटु भक्कानिएको र आँखा रसाएको अनुभव सुनाउँछन्, उनी । ‘शब्द लेख्दै गर्दा आँखामा झलझली दृश्य खेल्थ्यो । अनि मन सम्हाल्नै सक्दिनथें,’ उनले गीत लेख्दाको क्षण सम्झँदै भने ।
गीतमा आफैंले संगीत भरे । अनि खोजी गरे, गायिकाको । गीतका शब्द र भावका लागि गायिका देवी घर्ती उपयुक्त हुने जस्तो लाग्यो । उनको अनुरोधलाई घर्तीले सजिलै स्विकारिन् । गीत रेकर्ड भयो ।
गीत रेकर्ड गर्दा गायिका घर्तीले पनि मन सम्हाल्नै सकिनन् । उनले स्टुडियोमा रुँदै रुँदै उक्त गीत गाएको प्रकाशले सुनाए । जब गीत रेकर्ड भयो, तब उनी भावनाबाट माथि उठे । प्राविधिक रुपमा गीतलाई कसरी सशक्त बनाउने भन्नेमा उनको ध्यान केन्द्रित भयो ।
गीत राम्रो बन्यो । तर, म्युजिक भिडियो प्रभावकारी बनाउनैपर्ने थियो । ‘अहिले गीत चल्ने भनेकै म्युजिक भिडियोबाट हो,’ उनले भने, ‘फेरि मेरो गीत नै भिडियो कन्सेप्टमा तयार भएको थियो ।’
यसरी छानिइन् केकी !
धेरै सोचविचारपछि उनले म्युजिक भिडियोमा नायिका केकी अधिकारीलाई प्रस्तुत गर्ने निधो गरे । पहिला केही प्रोजेक्टमा सँगै काम गरेका प्रकाशलाई केकीको अभिनय र विषयलाई गम्भीरतापूर्वक लिने स्वभाव मन परेको रहेछ ।
केकीको फिगर, निर्दोष आँखा र गहन अभिनयबाट प्रभावित प्रकाशले म्युजिक भिडियोका लागि प्रस्ताव राखे । ‘१५-१६ वर्षकी बालिकालाई कल्पना गरेर स्क्रिप्ट तयार पारेको थिएँ । केकीजी अलि क्यारेक्टरभन्दा ठूली देखिनुहुन्छ कि भन्ने पनि लाग्यो,’ उनले भने, ‘तर उहाँभन्दा प्रभावकारी अरु कोही भएजस्तो लागेन ।’
- उनले केकीलाई म्यासेन्जरमा म्यासेज पठाए, ‘पूरै शरीरको एउटा फोटो पठाउनू न ! लकडाउनमा कस्ती हुनुभएछ, हेर्छु ।'
एकदिन गीतकै कथालाई लिएर प्रकाश सोच्नमग्न थिए । उनले केकीलाई म्यासेन्जरमा म्यासेज पठाए, ‘पूरै शरीरको एउटा फोटो पठाउनू न ! लकडाउनमा कस्ती हुनुभएछ, हेर्छु ।' म्यासेज पठाइसकेपछि केहीलाई ‘गलत इन्प्रेसन त पर्ने होइन’ जस्तो लागेछ, प्रकाशलाई । तत्काल अर्को म्यासेज पठाए, ‘फोटो एउटा प्रोजेक्टका लागि हो है !’
केकीले फोटो पठाइन् । फोटो हेर्नेबित्तिकै प्रकाशलाई लाग्यो, ‘लकडाउनमा शरीरलाई निकै मेन्टेन गरेकी रहिछन्, उनैलाई प्रस्ताव गर्छु ।’ प्रकाशले प्रस्ताव राखे । केकीले खुसी हुँदै स्विकारिन् ।
- भिडियो एडिटिङमा जो पुग्छ, ऊ रुने स्थिति भयो । अन्ततः म्युजिक भिडियो पनि तयार भयो
१५ मिनेटको उक्त म्युजिक भिडियो बनाउन एक दिन, एक रात सुटिङ गर्नुपर्याे । एडिटिङ भयो । भिडियो एडिटिङमा जो पुग्छ, ऊ रुने स्थिति भयो । अन्ततः म्युजिक भिडियो पनि तयार भयो । त्यसपछि प्रकाशलाई ठूलो जिम्मेवारी पूरा गरेजस्तो अनुभूति भएको छ ।
उनको मेहनतअनुसार गीतलाई धेरैले रुचाएका छन् । गीतको लोकप्रियताले उनलाई खुसी बनाएको छ ।