जनकपुर– कोरोना संक्रमणका कारण नेपालमा एक किशोरीको मृत्यु भएको छ । आज पर्साको पोखरिया–८ की १८ वर्षीया किशोरीकाे मृत्यु भएको हो । त्यस्तै, वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुषको समेत आजै मृत्यु भएको छ । योसमेत गरी प्रदेश २ मा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । यसमध्ये १४ जना पर्सा जिल्लाबाट रहेकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा आज २ सय २७ जना संक्रमित थपिएका छन् । जसमा ४१ जना महिला छन् । सोअनुरुप पर्सामा १४७, धनुषामा २३, सर्लाहीमा १९ , महोत्तरीमा १४, सिरहामा चार र सप्तरीमा एक जना रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए । योसमेत गरी प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७२ पुगेको छ ।