कोटेश्वर बस्ने २५ वर्षीया मीरा श्रेष्ठ नेपाली एप्सले मोबाइल भरिएको बताउँछिन् । उनी व्यस्तताका कारण दराज एपबाटै सपिङ गर्छिन्, खानेकुरा ‘फुडमान्डु एप’बाट मगाउँछिन् ।
त्यस्तै, भक्तपुरका विजय भट्टराईले पसलमा गएर रिचार्ज कार्ड किन्नै छाडेका छन् । उनी भन्छन्, ‘इ–सेवाको ग्राहक बनेदेखि मोबाइलबाटै रिचार्ज तथा बिल भुक्तानी गर्दै आएको छु ।’
प्रविधिमा आएको परिवर्तनका कारण मीरा र विजयले घरबाटै यस्ता काम गर्न सकेका हुन् । सपिङ गर्न मलसम्म पुग्नै पर्दैन, खानाखाजाका लागि रेस्टुरा धाउनै नपर्ने भएको छ । त्यस्तै चलचित्र हेर्न हल र फि तिर्न स्कुल, कलेजसम्म पुग्नै पर्दैन । तपाईंसँग भएको स्मार्ट फोनबाटै यस्ता काम गर्न सकिन्छ ।
मानिसका अनेक आवश्यकता पूर्तिका लागि स्मार्ट फोनको महत्त्वपूर्ण भूमिका छ । पछिल्लो समय ‘प्ले स्टोर’मा उपलब्ध ‘एप्स’ प्रयोग गर्दा यस्तै लाग्छ ।
अमेरिकामा बनेका फेसबुक र युट्युब, चीनमा बनेका टिकटक र जुम तथा नेपालमा बनेका केही एप्स नेपालमा बहुउपयोगी साबित भएका छन् ।
नेपालमा अत्यधिक रुचाइएका एप्स
आर्थिक कारोबारका लागि उपयोगी एप्स
नेपालमा पहिलो पटक इ–सेवाले घरमै बसेर आर्थिक कारोबार गर्ने सुविधायुक्त एप ल्याएको हो । इ–सेवाबाट मोबाइल रिचार्ज र टपअप, ल्यान्डलाइन बिल, हवाईजहाज र बसको टिकट, बिजुली र खानेपानीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजन रिचार्ज, मुभी टिकट, होटल बुकिङ, स्कुल फि तथा बैंक डिपोजिट गर्न सकिन्छ । इ–सेवाले २००९ देखि सेवा सुरु गरेको हो । यसबाहेक ‘खल्ती’, ‘आइएमई पे’, ‘प्रभु पे’ र ‘फोन पे’ले पनि घरबाटै आर्थिक कारोबार गर्न सहयोग पु¥याउँदै आएका छन् ।
तिथिमितिका लागि बेग्लै एप
नेपालमा तिथिमितिबारे ‘हाम्रो पात्रो’ र ‘नेपाली पात्रो’ एप्स लोकप्रिय छन् । यी एप्सबाट बार, गते, महिना र तिथि हेर्न सकिन्छ । त्यस्तै, नेपालमा मनाइने चाडबाड तथा संस्कृतिबारे जानकारीका लागि यी एप्स निकै उपयोगी छन् ।
‘नेपाली पात्रो’ सन् २०११ बाट र हाम्रो पात्रो सन् २०१२ बाट भित्ते पात्रोको विकल्पमा ‘इलेक्ट्रोनिक पात्रो’का रूपमा प्ले स्टोरमा आएका थिए । दुवै एप्स प्ले स्टोरबाट ५० लाखभन्दा धेरै पटक डाउनलोड गरिएको छ ।
त्यस्तै, ‘राम्रो पात्रो’, ‘नयाँ पात्रो’, ‘नेपाली क्यालेन्डर’ र ‘सजिलो पात्रो’ नामका इलेक्ट्रोनिक पात्रो पनि प्ले स्टोरमा उपलब्ध छन् ।
अध्ययन पनि एपबाटै
पठनपाठनका सहयोगी हुने थुप्रै एप्स प्ले स्टोरमा उपलब्ध छन् । जसमा ‘नेपाली डिस्नरी’, ‘नेपाली शब्दकोश’, ‘नेपाली व्याकरण’, ‘नेपालको संविधान’, ‘लोक सेवा आयोगको तयारी’, ‘नेपाली सामान्य ज्ञान’, ‘शिक्षक सेवा आयोग’, नेपाली ड्राइभिङ’ लगायत एप्स पर्छन् । ज्ञान र चेतनाको दायरा फराकिलो बनाउने उद्देश्यले यी एप्स निर्माण गरिएका हुन् । जुन नेपालीका लागि निकै उपयोगी साबित भएका छन् ।
स्वास्थ्यका लागि पनि
अधिकांश नेपाली स्वास्थ्य ज्ञानको पहुँचबाहिर छन् । धेरै जनासँग रोगका बारेमा सामान्य ज्ञान छैन । त्यस्तै, चिकित्सककहाँ गएर रोगबारे बुझ्न समय लाग्छ । यस्तो अवस्थामा घरबाटै स्वास्थ्यसम्बन्धी जानकारी गराउने उद्देश्यले विभिन्न एप्स निर्माण गरिएको छ । प्ले स्टोरमा ‘हाम्रो डाक्टर’, ‘मेरो डाक्टर’, ‘नेपाली घरेलु उपचार’, ‘यौनका कुरा’, ‘नेपाली हेल्थ टिप्स’ लगायत स्वास्थ्यसम्बन्धी एप्स उपलब्ध छन् । यस्ता एप्सबाट रोगको जानकारी र उपचार पद्धतिसमेत थाहा पाइन्छ । स्वास्थ्यलाई अमूल्य धन ठान्नेहरूका मोबाइलमा यस्ता एप्स राख्ने गरेको पाइन्छ ।
चलचित्र हेर्न सजिलो
घरमै चलचित्र हेर्ने वातावरण बनाउन नेपाली चलचित्र निर्माता तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिले विभिन्न एप्स निर्माण गरेका छन् । जसमा ‘आइफिलिक्स’, ‘नेट टिभी नेपाल’ र ‘फोपी’ निकै लोकप्रिय छन् । निश्चित रकम तिरेपछि फोपीबाट अनलाइन तथा अफलाइनमा नेपाली चलचित्र र भिडियो हेर्न सकिन्छ । प्ले स्टोबाट यो एप १ लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ ।
त्यस्तै, आइफिलिक्स ओटिटी प्लेटफम हो । यो एप नेपालमै नबने पनि नेपालमा धेरै लोकप्रिय छ । यसबाट नेपाली, हिन्दी, कोरियन र अंग्रेजी चलचित्र हेर्न सकिन्छ । ‘आइफिलिक्स’ले शुल्क लिएर र निःशुल्क चलचित्र हेर्ने सुविधा उपलब्ध गराउँछ । यो एप मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, बंगलादेश, नेपाल, थाइल्यान्ड, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, माल्दिभ्स र कम्बोडियासहित १३ देशहरूमा उपलब्ध छ ।
किनमेल सहज बन्दै
अनलाइन किनमेलका लागि ‘दराज’ एप निकै लोकप्रिय छ । यसबाट आफूलाई मनपर्ने सामग्री घरमै मगाउन सकिन्छ । सन् २०१२ मा पाकिस्तानबाट सुरु भएको यो एप सन् २०१८ मा चिनियाँ कम्पनी अलिबाबा समूहले आफ्नो स्वामित्वमा लिएको थियो । दराजले दक्षिण एसिया र पूर्व एसियाका बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकामा सेवा दिँदै आएको छ । त्यस्तै, ‘हाम्रो बजार’ एप अनलाइन किनमेलका लागि निकै प्रयोग गरिन्छ, यसबाट आफूलाई मन परेका विद्युतीय (इलेक्ट्रोनिक) सामान किन्न र बिक्री गर्न सकिन्छ । यस एपबाट प्रायः सेकेन्ड ह्यान्ड समान खरिद बिक्री गरिन्छ ।
फुड डेलिभरी एपको क्रेज बढ्दो
घर तथा अफिसमा हुँदा आफूलाई मनपर्ने खाना तथा खाजा मगाएर खान ‘फुडमान्डु’, ‘फुडमारियो’ र ‘भोज’ जस्ता एपहरू निर्माण गरिएको छ । यस्ता एपबाट व्यस्तताका बाबजुद पनि मनपर्ने रेस्टुरामा पाइने खाना तथा खाजा खान पाइन्छ । खाजा खान जाने समय बचत हुने भएकाले यस्ता एपको लोकप्रियता बढ्दै गएको छ ।
सवारीसाधनसम्बन्धी बेग्लै एप
विगत केही वर्षयता ‘पठाओ’, ‘टुटल’ र ‘सारथी’ नामका मोबाइल एप्स सवारीसाधन प्रयोगका लागि निकै चर्चित छन् । आफूले चाहेको ठाउँमा उचित मूल्यमा जान पाइने भएपछि यी एप्स सहरी क्षेत्रमा निकै लोकप्रिय छन् । टुटल र सारथी नेपालमै बनेका एप्स हुन् भने पठाओ बंगलादेशको स्वामित्व भएको एप हो । टुटल र पठाओ बाइक र स्कुटीमा यात्रा गर्न बढी प्रयोग गरिएको छ भने सारथी ट्याक्सीमा यात्रा गर्न प्रयोग गरिन्छ ।