एक समय थियो, नवीना लामा राजधानीको सडकमा हजारौंकोे जुलुस नेतृत्व गरिरहेकी हुन्थिन् । अहिले भने उनी सुस्त गतिमा पाइला चाल्छिन् । शान्तिनगरस्थित घरको सिकुवामा भेट्दा उनले भनिन्, ‘आउँदो भदौको अन्तिम साता आमा हुँदै छु । पेटभित्र हुर्किरहेको बच्चालाई अलिकति पनि दक्खल नपरोस् भनेर सुस्तरी हिँड्छु ।’
लामाको विवाह राजनीतिक सहकर्मी प्रवीण श्रेष्ठसँग दुई वर्षअघि भएको हो । प्रेमपछि विवाह र यति छिटै आमा बन्ने कुरा उनले पहिले सोचेकी थिइनन् । तर सामाजिक संरचना र मानवीय भावनालाई अँगाल्दै जानुमा उनलाई कुनै आपत्ति पनि रहेन । अहिले उनको पेटमा नौ महिनाको गर्भ छ । संसद् भवनमा नीति निर्माणका लागि रोस्टममा उभिने उनी आमा हुँदै गर्दाको अनुभूति सँगालिरहेकी छिन् ।
डाक्टरले गर्भबारे खबर दिँदा उनको मुटुको धड्कन बढेको थियो । अहिले उनीभित्र अर्को धड्कन पनि चलिरहेको छ । पेटको शिशुले पुक्क लात मार्छ अनि पढ्दै गरेको पारिजातको आत्मसंस्मरण एकातिर पन्छाएर उनी फेरि पेट छाम्छिन् । उनलाई जिस्क्याउँदै श्रीमान् प्रवीण भन्छन्, ‘भात पनि कहिल्यै सहजले नखाने उनी अहिले टन्न खाने भएकी छिन् । त्यही भएर ७० केजी पुगिसकिन् ।’ प्रवीणले त्यसो भन्दा उनी मुस्कुराउँछिन् ।
गर्भ पाठेघरको ट्युबनजिक बसेको कारण डाक्टरले उनलाई सचेत रहन सुझाएका छन् । राजनीतिक दौडमा आफ्नो जीवनलाई फर्केर हेर्न नभ्याएकी उनी आफ्नै शरीरमा अर्को प्राण हुर्किरहेको सोचले रोमाञ्चित हुन्छिन् । उठेको पेटलाई छुँदै उनी राजनीतिक भाषा बोल्छिन्, ‘हामीले नेतृत्व गर्दै आएको आन्दोलनलाई निष्कर्षमा पुर्याउन मेरो सन्तान पुस्ताले पनि लडाइँ गर्नुपर्ने देख्छु । सिद्धान्तअनुसार व्यवहारमा सङ्लिन अझै बाँकी छ ।’
समाजको अहिलेसम्मको अभ्यास हेर्दा विवाह गर्नु र बच्चा जन्माउनु महिलाको करिअरलाई पूर्णविराम लगाउनु हो । राजनीतिमा पनि धेरै महिला विवाह गरेपछि घरमै थन्किएका उदाहरण छन् । उनी यो पुरानो मानक भत्काउन चाहन्छिन् । एक महिना अघिसम्म नेपालको नयाँ नक्सा पास गर्न बसेको संंसदीय बैठकमा उनी सहभागी थिइन् ।
बच्चा जन्माएपछि पनि केही महिना आराम गरेर उनी सक्रिय राजनीतिमा आउने योजनामा छिन् । उनी भन्छिन्, ‘एउटी आमाले बच्चा हुर्काउँदै करिअरलाई निरन्तरता दिने वातावरण कानुनी रूपमै राज्यले व्यवस्था गर्नुपर्ने हो ।’ त्यसो त प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिकी सदस्य रहेकी उनी जनताले पाउनुपर्ने यी सुविधालाई राज्यले जिम्मा लिनुपर्ने लबिङ गरिरहेकी छन् ।
‘कम्तीमा गर्भावस्थामा कुपोषण र प्रसव व्यथाले छटपटिँदा उपचार नपाएर महिलाले ज्यान गुमाउनु नपरोस् । यसका लागि शिक्षा र स्वास्थ्य जनताले निःशुल्क पाउनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भनिन् ।
महिलालाई बच्चा पाउने माध्यम र बच्चा पाउनु वंश निरन्तरता मात्रै हो भन्ने परम्परागत दृष्टिकोणको दायरालाई भत्काउन पनि केही गर्ने उनको सोच छ । यो अवधि भने उनी पूर्णतया पेटमा हुर्कंदो शिशुको ध्यानमा छिन् ।
यो पनि हेर्नुहोस्
लायकु मिसा अर्थात् दरबारकी केटी
सुरक्षासँगै सौन्दर्य
शब्द : शकुन्तला जोशी
फोटो : श्रुति श्रेष्ठ
यो पनि हेर्नुहोस्
लायकु मिसा अर्थात् दरबारकी केटी
सुरक्षासँगै सौन्दर्य