मुट्ठीभरिको स्लिपिङ ट्याब्लेटलाई झ्यालबाट हुर्याएर मैले उसलाई आफूतिर तानेँ ।
चुम्बनको वर्षा गरी कथा भन्न सुरुवात गरें। सधैँझैं मैले कथाको सुरुवात गरें ।
000
यी जीवनवादी शब्दहरू ‘एक झुल्को घाम’ कथाबाट साभार गरिएको हो । जसका सर्जक हुन् आख्यानकार पद्मावती सिंह । उनी कोरोना संक्रमण तथा महामारीबाट बच्न गरिएको बन्दाबन्दीकै अवधिमा ‘एक झुल्को घाम’ (कथासंग्रह) लिएर पाठकमाझ आएकी हुन् । कोरोना महामारीका कारण औपचारिक कार्यक्रमविना कृति सार्वजनिक गरिएको हो ।
‘यस्तो बेलामा मानिसहरू भेला पारेर पुस्तक विमोचन गर्न उचित लागेन,’ सिंहले भनिन् । एक झुल्को घाममा उन्नाइसओटा कथा समेटिएका छन् । कथामा नारी संवेदनाका फरक फरक कोणबाट नेपाली समाजलाई चिहाउने प्रयास गरिएको छ ।
सिंहका कथादि (२०३८), कथायाम (२०३९), कथाकार (२०४४), पद्मावतीका कथाहरू (२०५७), मौन स्वीकृति (२०६२), तथा समय दंश (२०६७), पद्मावती सिंहका प्रतिनिधि कथाहरू (२०७६)लगायतका कृति प्रकाशित भएका छन् ।
स्वदेश प्रकाशन प्रालिले ‘एक झुल्को घाम’ प्रकाशन गरेको हो । कृतिको मूल्य तीन सय रुपैयाँ तोकिएको छ ।