काठमाडौं– परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले कक्षा ११ को परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । कार्यालयले आज सूचना निकालेर विद्यालय पुनः सञ्चालन नभएसम्म कक्षा ११ को परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।
भदौ १ देखि विद्यालय खोल्ने सरकारको तयारीसँगै केही विद्यालयले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी र अभिभावक मनोवैज्ञानिक त्रासमा थिए । पनिकाले यही मनोवैज्ञानिक त्रास र भ्रम चिर्नका लागि सूचना निकालेको हो ।
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिहरू, २०७७ मा कक्षा ११ का आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व परीक्षा लिनुपर्ने व्यवस्था गरिएकाे छ । त्यस्तै, नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नुअगाडि विद्यालयको अनुकूलतामा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी विद्यालयले नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
पनिकाले विद्यालयहरू पुनः सञ्चालनमा आएपछि मात्र कक्षा ११ को आंशिक, ग्रेड वृद्धि तथा नियमित कार्यक्रम गर्ने तयारी गरेको छ ।