काठमाडौं– नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् । वर्षाका कारण क्षति हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल प्रदेश २ मा र प्रदेश ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । त्यस्तै, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
तापक्रम
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३० दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव तीन डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।