काठमाडौं– सरकारले घरमै आइसोलेसनमा बस्न चाहनेलाई केही मापदण्ड तयार पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार घरकै आइसोलेसनमा बस्न चाहने व्यक्ति र सम्बन्धित परिवारका सदस्यले पालन गर्नुपर्ने मापदण्ड तयार पारिएको हो ।
डा. गौतमले भने, ‘सामान्यभन्दा सामान्य सावधानी अपनाउँदासमेत संक्रमित व्यक्ति छिटै निको हुन सक्छ तर सरकारले तय गरेको मापदण्डलाई अक्षरशः कार्यान्वयन भने गर्नुपर्छ ।’
संक्रमितले पालना गर्नुपर्ने मापदण्ड
- पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने
- उपचार अवधिभरि आवश्यक पर्ने सामानहरु परिवारका सदस्यसँग मगाउने
- पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने
- प्रयोग गरिएका भाँडावर्तन सुरक्षित रूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्ने
- स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने ।
- दाँत माझ्ने ब्रसलगायतका सामान छुट्टै राखेर प्रयोग गर्नुपर्ने
- घरायसी सामान चलाउँदा वा छोइसकेपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने
- भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने
परिवारले पालना गर्नुपर्ने मापदण्ड
- कोरोना सङ्क्रमितको हेरचाह गर्नेले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने
- दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिका संक्रमित व्यक्तिभन्दा टाढा राख्नुपर्ने
- सङ्क्रमित व्यक्तिको दैनिक तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्नेछ । रेकर्ड गरिएको ज्वरोको जानकारी भने सम्बन्धित स्वास्थ्यकर्मीलाई गराउनुपर्ने