काठमाडौं - कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो ।
शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । यस साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ ।
विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो ।
हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।
यस्तै विदेशमा विविध कारणबाट मृत्यु भएका २४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ । हालसम्म १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ ।
विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ । रासस