‘ज्ञानबहादुर छोरो’ गीत गाउँदा विधान श्रेष्ठ २२ वर्षका थिए । त्यतिबेला नेपाली सांगीतिक क्षेत्रमा ‘रक’ गीत चर्चामा थियो ।यही क्षेत्रमा स्थापित हुन प्रयत्नरत विधान श्रेष्ठ रक गीत नै गाउन चाहन्थे । उनलाई राष्ट्रिय भावले ओतप्रोत गीत गाउन पटक्कै मन थिएन । तर, बुबा विजय श्रेष्ठले राष्ट्रिय गीत गाउन प्रस्ताव गरे । विधानले गीत गाउन मन गरेनन् ।
धेरै कर गरेपछि बुबाकै मन राखिदिन उनी गीत गाउन तयार भए । ‘पहिले देशभक्तिपूर्ण गीत बूढापाकाले मात्रै गाउँछन् भन्ने थियो,’ विधान भन्छन्, ‘रक गीत गाउने समयमा देशभक्ति गीत गाउन मानेको थिइनँ ।’

- कालापानी हाम्रै हो, महाकाली हाम्रै हो त्यसैले त्यहाँ माछा मार्न वा जे गर्न पनि हामी स्वतन्त्र छौं, अरूले मनपरी गर्न पाउँदैनन् ।
उनले २०५५ सालमा ‘ज्ञानबहादुर छोरो’ गीत गाएँ । यो अलिक फरक धाराको गीत थियो । श्रोताले यसबाट नयाँ स्वाद पाए । विधानले त्यतिबेला यस्ता धेरै गीत गाए । जसबाट उनको परिचय बनेको छ, देशभक्ति गायक ।
राजनीतिक तरंगमा म्युजिक भिडियो
'ज्ञानबहादुर छोरो'को म्युजिक भिडियो बनाइयो, जसका निर्देशक थिए भूषण दाहाल । गीतलाई खुबै रुचाइयो । विधानको गायन शैलीबाट प्रभावित थिए, दाहाल ।
‘ज्ञानबहादुर छोरो’ टिभीबाट प्रसारण हुन थाल्यो । त्यतिबेला ‘कालापानी’ विवाद चर्किरहेको थियो । कालापानीका समाचारले पत्रपत्रिका भरिन्थे । राजनीतिक माहोल तरंगित भएको थियो । राष्ट्रिय राजनीति निकै नजिकबाट अध्ययन गरेका दाहालले विधानलाई भने, ‘अहिले कालापानीबारे गीत बन्यो भने एकदम राम्रो हुन्छ ।’
विधानले दाहालको सन्देश बुबालाई सुनाए । विजयले ‘राम साइली छेकन दुवाली माछा मारी’ भन्ने लोक गीत सुनेका थिए । विजयले त्यही लोकगीतको भाकामा ‘कालापनी’ गीत रचे । गीत रेकर्ड भयो । गीतको भिडियो बनाउने सल्लाह भयो । त्यतिबेला भूषण दाहालले केही समय मागेको विधान सम्झिन्छन् । ‘भूषण दाहालले केही समय मागेपछि हामीले सोचेको भन्दा दुई महिना ढिलो गरेर भिडियो बन्यो,’ उनी भन्छन् ।
- गीतको छायांकन कालापानीमै गर्ने सोच थियो । तर सम्भव भएन ।
गीतको छायांकन कालापानीमै गर्ने सोच थियो । तर सम्भव भएन । ‘लगानी र भौगोलिक अवस्थाका कारण सम्भव भएन,’ विधान भन्छन्, ‘त्यसैले काठमाडौंनजिकै सुकुटे र दोलालघाटमा खिच्यौं । तिहारको तीन दिन पछि छायांकन भएको थियो ।’
नेपाल टेलिभिजनमा प्रसारण हुने च्यानल ‘दिव्य दृष्टि’ले पहिलोपटक गीत प्रसारण गर्यो । विधानलाई गीत चर्चित होला भन्ने लागेकै थिएन ।
गीतमा देशप्रेम
गीतमा सीमाको मुद्दा उठाइएको छ । महाकालीको पानीमा भारतीय पक्षबाट मनपरी गरिएको प्रसंग छ । महाकालीदेखि पूर्वको पशुपतिनगरसम्मको कुरा गरिएको छ । खुला सिमानाको फाइदा उठाउँदै अनावश्यक रूपमा भारतीय नागरिक नेपाल प्रवेश गरिरहेकाले सीमानाका बन्द गर्न आग्रह गरिएको छ ।
अघोषित प्रतिबन्ध
- बज्छ बज्छ भन्थे तर बजाउँदै बजाएनन् । कतैबाट दबाब आएकाले नबजाएको भन्ने सुन्थें त्यतिबेला ।
विजयको गीतलाई अघोषित रूपमा प्रतिबन्ध लगाइएको थियो । नेपाल टेलिभिजनमा गीत प्रसारण गर्न छाडियो । त्यतिबेला अरू दुई–तीन टेलिभिजन च्यानल पनि थिए । विधानले प्रसारणका लागि भिडियो बुझाए । तर, प्रसारण गरिएन । ‘मैले सोध्दा बज्छ बज्छ भन्थे तर बजाउँदै बजाएनन् । कतैबाट दबाब आएकाले नबजाएको भन्ने सुन्थें त्यतिबेला,’ विजय भन्छन् ।
उनी गीत प्रसारण गर्न टेलिभिजन धाउँदा धाउँदा हैरान भए । उनले भने, ‘त्यसपछि मैले पनि वास्ता गर्न छोडें ।’
गीत चर्चा शृंखला
गीत दोस्रो जनआन्दोलनताका एकाएक चर्चामा आयो । सबैतिर गीत बज्न थाल्यो । ‘यसबाट सहजै अनुमान लगाउन सकिन्छ, राजनीतिका कारण गीत प्रसारणमा प्रतिबन्ध लगाइएको थियो,’ उनी भन्छन् ।
भारतले नेपालको कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेपछि यो गीत पुनः चर्चामा आयो । गीत बाक्लै सुनिन थाल्यो । सीमामा विवाद र हस्तक्षेपका विषय उठ्नासाथ यो गीत घन्कन थालेको छ ।
‘भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरामा सडक खोलेपछि यो गीतको सान्दर्भिकता बढेको हो,’ विधान भन्छन् । गीतमा विधान श्रेष्ठ, रीता उपाध्याय र जे पापीको स्वर रहेको छ । गीतमा नेपालको पीडा चित्रित छ । लोकलयमा आधारित यस गीतमा विधानको आवाज उत्तिकै सुमधुर सुनिएको छ । विधान गाउँछन्–
मनको काँडाले कहिल्यै नि कोरेन, फलामे काँडाको तारैले
मनपरी हैन गाँठे, हाम्रो पानीमा
आलै छ घाउ अठारको, नालापानीमा... ।
गीतमा प्रयोग गरिएको ‘अठार’ शब्दले सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिलाई इंगित गरेको छ । सन्धिमा कालीनदी र कालीनदी पूर्वको भाग नेपालको हुने उल्लेख छ । ‘कालापानी हाम्रै हो, महाकाली हाम्रै हो त्यसैले त्यहाँ माछा मार्न वा जे गर्न पनि हामी स्वतन्त्र छौं, अरूले मनपरी गर्न पाउँदैनन्,’ विधान भन्छन् ।
- सीमामा विवाद र हस्तक्षेपका विषय उठ्नासाथ यो गीत घन्कन थालेको छ । ‘भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरामा सडक खोलेपछि यो गीतको सान्दर्भिकता बढेको हो
गत जेठ ७ मा नेपाल सरकारले सुगौली सन्धिअनुसारै कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको छ । यसपछि नेपालको क्षेत्रफल करिब ३ सय ३५ वर्ग किलोमिटर थपिएको छ । भारतले यसमा आपत्ति जनाइसकेको छ ।
देशभक्तिकै बाटोमा
विधान लहड र लहरको पछि कहिल्यै दौडिएनन्, आफ्नै सुरतालमा हिँडिरहे । संगीत साधनाको पर्याय बनेका छन् विधान । यसमा बुबा विजय श्रेष्ठको संगत र संस्कारको मुख्य हात छ । विधान प्रायः बुबाकै गीतहरू गाउँछन् । विधान आफैंले गीत लेखेका छन्, संगीत भरेका छन् । उनी नेपाली मौलिक शब्द र लोकलयमा आधारित गीत गाउँदा आनन्दित हुन्छन् । उनी नेपाली खुकुरीको कथामा आधारित गीत स्रोतामाझ ल्याउने तयारीमा छन् । जसका केही शब्द–
हामी त्यसै निस्किँदैनौं
निस्किसकेपछि
कि त साँधै हालिन्छ
कि त मारै ढालिन्छ ।
नेपाली युवापुस्ता निकै सचेत भएको विधान सुनाउँछन् । उनी भन्छन्, ‘युवामा राजनीतिप्रति उत्तिकै रुचि छ । अब नयाँ पिँढीका गायक÷गायिकाले देशप्रेमका गीत गाउनुपर्छ ।’
सांगीतिक यात्रा
विधानको जन्मघर सुनसरीको इनरुवा हो । घरमा सांगीतिक माहोल थियो । विजय कोठामा रियाज गर्थे, जुन विधानलाई मन पर्थ्याे । विजयकै पहलमा इनरुवामा सांगीतिक कार्यक्रम हुन्थ्ये । त्यहाँ दार्जिलिङ, कालिङपोङ, विराटनगर र धरानबाट कलाकार आउथे ।

विधानको मामाघर धरान हो । उनी मामाघर जाँदा गितार लैजान्थे । साँझपख गितार बजाउँदै गीत गुनगुनाउथे । गीत र वाद्यवादन उनकोे दैनिकी बनेको थियो ।
एक वर्ष ‘गितार’ को प्रशिक्षण लिएपछि उनले संगीतकार अम्बर गुरुङसँग शास्त्रीय संगीत सिक्न थाले । गुरुङसग संगीत सिक्न थालेपछि विधानले ‘बुहारी झारझैँ लजालु’ गीत रेकर्ड गराए ।
४० वर्षअघि विजयले यही गीत गाएर रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका थिए तर रेकर्ड गरेका थिएनन् । उनको सपना थियो, विधानले यो गीत गाओस् । यो गीत लाइभ म्युजिकमा रेकर्ड भयो । यसले विधानलाई रातारात हिट बनाइदियो ।
दुई दशक लामो सांगीतिक यात्रामा विधानका यो योवन, बेस्ट अफ विधान, पुरानो मायालाई, जात्रा हाँडी गाउँको, साइन, एकता नै बल र कायम गरी सात एल्बम सार्वजनिक भएका छन् ।