काठमाडौं– आन्तरिक विवादले पार्टी फुट्ने दिशामा गएको भन्दै नेकपाका सांसदहरूले एकता जोगाउन अपिल गरेका छन् । नेकपाका ६१ सांसदले हस्ताक्षरसहित पार्टीलाई विग्रहको बाटोमा जानबाट रोक्न मुख्य नेतृत्वलाई अपिल गरेका हुन् ।
आइतबार दिउँसो तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन नगर्न अनुरोध गरिएको छ ।
ठूलो पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक भएको बताउँदै सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी प्रमुख नेतत्वकहाँ जाने होइन कि उहाँहरू हामीकहाँ आउने बनाउँछौं । हामी कहीँ कतै नजाने भएकाले हस्ताक्षर गरेका हाैं । नेकपा नफुट्ने भएपछि किन कसैको पक्षमा लाग्नु ?’
एक सांसदले भने, ‘पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्ने कुरामा साथ रहनेछ तर पद र प्रतिष्ठाका लागि हुने लडाइँ र विभाजनका पक्षमा लाग्दैनौं ।’
सांसद तथा नेकपा केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले पछिल्लो समय नेकपाभित्र केही असामान्य परिस्थिति सिर्जना हुँदा छलफलका लागि बैठक बस्ने वातावरण पनि नबनेको बताइन् ।
- झाँक्रीले नेतृत्वबाट एकता जोगाउने काम नभएकाले सांसदहरूले बोल्नुपरेको बताइन् । नेताका अभिव्यक्ति र गतिविधिका कारण जनता र कार्यकर्तामै पार्टीप्रति वितृष्णा जागेको एकताका पक्षधर सांसदको निष्कर्ष छ ।
उनले भनिन्, ‘अहिले थुप्रै कुरा सतहमा आएका छन्, मुख्य नेतृत्व नै सानो परिवार, सुखी परिवार भनेजस्तै फुटेर फरक बाटोमा जाऊ भन्नेहरू पनि हुनुहुन्छ । कोही पार्टी विभाजित गर्नुहुन्न भन्ने पक्षमा हुनुहुन्छ ।’
झाँक्रीले नेतृत्वबाट एकता जोगाउने काम नभएकाले सांसदहरूले बोल्नुपरेको बताइन् । नेताका अभिव्यक्ति र गतिविधिका कारण जनता र कार्यकर्तामै पार्टीप्रति वितृष्णा जागेको एकताका पक्षधर सांसदको निष्कर्ष छ ।
पार्टी एकतालाई अक्षुण्ण राख्न मुख्य नेतृत्वलाई अपिल गरिएको दाहालले बताए । लामो समयदेखि कम्युनिस्ट पार्टीभित्र टुटफुटको संघर्ष चलेको र अथक प्रयासबाट पार्टी एकता भएकाले यसलाई पूर्णता दिनुपर्ने आफूहरूको माग रहेको सांसदको भनाइ थियो ।
अपिलमा समाजवादी अर्थतन्त्र निर्माण गर्ने बाटोमा जानुपर्ने बेला एकता पूरा नहुँदै विग्रहतर्फ जान लागेकाले शीर्ष नेतालाई गम्भीर भएर सोच्न आग्रह गरिएको छ ।