काठमाडौं– कोरोना संक्रमण दर बढ्दै गएकाले सार्वजनिक यातायात तीन हप्ता सञ्चालन नगर्न सुझाव दिइएको छ । उपत्यका नगरपालिका फोरमले आइतबार रक्षा मन्त्रालयमा कोरोना भाइरस सक्रमणको संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई संक्रमण नियन्त्रण गर्न सो सुझाव दिएको हो ।
फोरमले तरकारी व्यापारलाई साँझ–बिहान मात्र खोल्न र फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई तीन हप्ताका लागि निषेध गर्न सुझाएको छ । त्यस्तै, उपत्यका भित्रिने नाकामा कडाइ गर्न सुझाव दिइएको छ ।
फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पोखरलेलसँग छलफल गरेका हुन् ।
शाक्यले भने, ‘काठमाडौंमा कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको यहाँ प्रवेश गर्ने नाकामा कडाइ गर्न हामीले उपप्रधानमन्त्री पोखरेलज्यूलाई आग्रह गरेका छौं । उहाँले हाम्रो सुझाबलाई सकारात्मक रूपमा लिनुभएको छ । आजै सिसिएमसीको बैठक बोलाएर यी सवालहरूमा गम्भीरताका साथ छलफल गर्छौँ भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।’
त्यस्तै, सरकारको विरोध र समर्थनमा ऱ्याली, भेला, अनशन, जुलुसलगायतका गतिविधिमा कडाइ गर्न सुझाब दिइएको छ । उनले भने, ‘सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनशनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाब दिएका छौं ।’
लुकीलुकी उपत्यका भित्रिने व्यक्तिबाट समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।
फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिबार बसेको छलफलले आज मन्त्री पोखरेललाई भेटी सुझाब दिने निर्णय गरेको थियो । फोरमको बैठक सोमबार बस्ने तय भएको छ ।