प्रिय साई
दुःखी बनाएँ, यसमा दुःख लागेको छ । तर यहाँ अन्जुमको सट्टा म अरुन्धती रोय पत्र लेखिरहेकी छु । तपाईंले उनलाई तीन वर्षपहिले पत्र लेख्नुभएको थियो । अवश्य पनि उनी उत्तर लेख्न चाहन्थिन् । तर, म के भनूँ ? तपाईं र हाम्रोभन्दा उनको समयको मापन गर्ने तरिका धेरै फरक छ, अहिले ह्वाट्सअप र ट्विटरको गतिमा चलिरहेको दुनियाँको त कुरै नगरौं । त्यसैले एउटा पत्रको जवाफ लेख्नेबारे तीन वर्षसम्म पनि केही सोचिनन् । अहिले त उनले आफूलाई जन्नत गेस्टहाउसमा बन्द गरेर राखेकी छिन् । र, पूरै समय गीत गाएर बिताइरहेकी छिन् ।
विगतमा उनले फेरि गाउन सुरु गरिन् । उनको ढोकानजिकै पुग्दा गीत गाइरहेको सुन्छु । खुसी लाग्छ कि उनी जीवित छिन् । उनी हरपल गाउँछिन्, ‘तुम बिन कौन खबरिया मोरी लाए ।’ मेरो मुटु चर्कन्छ । तपाईंको याद झलझली आउँछ । जब उनी गाइरहेको हुन्छिन्, लाग्छ– उनी तपाईंबारे नै सोचिरहेकी हुन्छिन् । यद्यपि उनले तपाईंलाई जवाफी पत्र लेखिनन् । पत्र नलेखे पनि उनी प्रायः तपाईंकै लागि गाइरहेकी छिन् जस्तो लाग्छ । यदि एकाग्रता बढाउनुभयो भने सायद तपाईं उनलाई सुन्न सक्नुहुनेछ ।
अघि मैले समयलाई बुझ्नेबारे कुरा गर्दा लेखें– तपाईं र हाम्रो । वास्तवमा यो लेख्नु गलत थियो । किनकि एक खतरनाक जेलमा आजीवन काराबासको जिन्दगी बिताउनुले तपाईंलाई नै अन्जुमको नजिक पुर्याउँछ, मलाई होइन । वा, अवस्था त्योभन्दा पनि बिलकुल फरक हुन सक्छ ।
म सधैं अंग्रेजी भाषाको ‘डुइङ टाइम’– जेलमा खट्नु, शब्दबारे सोचिरहेकी हुन्छु । जसरी यसको प्रयोग हुन्छ, यसको निहितार्थ त्योभन्दा गहिरो छ । यसर्थ यो विचारहीन दृष्टान्तले म दुःखी छु ।
अन्जुम आफ्नै हिसाबले आजीवन काराबासमा छिन् । उनी आफ्नै चिहानमा छिन्– जीवनको ‘बुचर्स लक’मा । तर निश्चित हो कि उनी जेलको बन्द कोठामा छैनन्, न त त्यहाँ जेलर नै छ । उनका जेलर बनेका छन्, जिन्न (जादुयी शक्ति) र जाकिर मियाँका सम्झनाहरू ।
बर्दी कथानक
तपाईंलाई कस्तो छ ? मैले सोधिरहेकी छैन । किनकि म यो कुरा वसन्ता (साईकी श्रीमती– अ.)बाट जानकारी पाइसकेकी छु । तपाईंको मेडिकल रिपोर्ट पनि मैले पहिल्यै विस्तृतमा हेरिसकेकी छु । उनीहरू जमानत वा पेरोलमा किन रिहाइ गर्दैनन् ? यो मेरो कल्पनाबाहिरको विषय हो । मैले तपाईंबारे नसोचेको कुनै दिन छैन । तर, के उनीहरूले अहिले पनि अखबारहरूमा प्रतिबन्ध लगाएका छन् ? र, किताबमा रोक लगाएका छन् ? जेलभित्र तपाईंका दिनचर्यामा सघाउने ती साथीहरू अहिले पनि तपाईंसँगै छन् ? वा उनीहरू सिफ्टमा आउँछन् ? के उनीहरूको व्यवहार के मैत्रीपूर्ण छ ? उनीहरूको व्यवहार साथीको जस्तै छ ? तपाइको ह्विल चेयर अहिले कस्तो काम गरिरहेको छ ?
मलाई थाहा छ– उनीहरूले तपाईंलाई गिरफ्तार गरेका थिए । वास्तवमा घर आउने बेलामा तपाईंको अपहरण गरिएको थियो, मानौं गम्भीर अपराधी हो, तपाईं । त्यतिबेला तपाईंको ह्वीलचेयर बिग्रिसकेको थियो । (हामी उनीसँग आभारी छौं कि, उनीहरूले तपाईंलाई ‘आत्मरक्षा’का लागि विकास दुबे बनाएनन् । नत्र त तपाईंले बन्दुक खोसेर एक हातले ह्वीलचेयर लिएर भाग्यो भन्न उनीहरू पछि पर्दैनथे । वास्तवमा हामीले साहित्यमा नयाँ शैली बनाउनु आवश्यक छ, त्यो हो बर्दी कथानक । वार्षिक समारोहका लागि हामीसँग प्रयाप्त कुरा हुनेछ । पुरस्कार पनि राम्रै हुनेछ र यसमा हाम्रै तटस्थ न्यायालयका तटस्थ न्यायधीशले आफ्नो भूमिका अब्बल रूपमा प्रस्तुत गर्नेछन् ।)
- हामी कठोर हृदय, क्रूर र कमजोर दिमाग भएका शासकबाट शासित छौँ, यस्तो विशाल देशको सरकार कति दयनीय छ, जो आफ्नै लेखक र विद्वानसँग डराइरहेको छ ।
मलाई त्यो दिन याद छ, जब तपाईं मलाई भेट्न आउनुभएको थियो । त्यसदिन ट्याक्सी ड्राइभरले तपाईंलाई ह्विलचेयरमा राखेर मेरो घरसम्म ल्याउन मद्दत गरेको थियो । मेरो घर ह्विलचेयरमैत्री त थिएन नै, घर छिर्ने सिँढीतिर भुस्याहा कुकुरहरूले हैरान पार्छन् । लकडाउनपछि सहरमा काम पाउन मुस्किल भयो, अनि हाम्रा कार चालक मित्रहरू पनि आफ्नै घरतिर लागे । अहिले उनीहरूका गाडीहरू धुलोले पुरिएका छन् । यो ठूला सहरबाट साना मानिस बेपत्ता भइसकेका छन् ।
मैले अझै राखिराखेको छु, मेला लागि तपाईंले बनाउनुभएका अचारका डिब्बाहरू । तपाईं बाहिर आउने समय र एकसाथ यो डिब्बा खोल्ने समयको प्रतीक्षा गरिरहेको छु । अनि सँगै हामी खाना खानेछौं । त्यति बेलासम्म अचार पनि राम्रोसँग पाकिसकेको हुनेछ ।
म तपाईंकी वसन्ता र मन्जिरासँग कहिलेकाहीँ मात्र भेट्छु । किनभने हाम्रा साझा दुःखले हाम्रो भेटलाई झनै कठिन बनाउँछ । तर यो केवल दुःखको कुरा मात्र होइन, मेरो क्रोध, असहायता, लाचारीले झनै कठिन बनाउँछ । धेरै मानिसहरू तपाईंको अवस्थाप्रति ध्यान दिइएनन् भन्ने कुरो झनै दुःखी बनाउँछ । यो कतिसम्मको क्रूरता हो भने, एक व्यक्ति आंगिक असक्षमता शारीरक असक्षमताको स्थितिमा जेलभित्र छ । जसलाई बेतुकको अपराधका कारण यो स्थितिमा पु¥याएको छ ।
लाजमर्दो कुरा के हो भने यो अवस्थामा न्यायका लागि हामीले विशेष पहल र अपिल गर्न सकेनौं । मलाई डर छ कि सर्वोच्च अदालतले तपाईंलाई अन्ततः दोषमुक्त बनाउनेछ । तर, त्यो समयपछि तपाईं र तपाईंका मान्छेहरूले धेरै दुःख भोग्नुपर्नेछ ।
भारतमा कोभिड–१९ एकपछि अर्को जेलमा फैलिरहेको छ । तपाईंको जेल पनि यसमा समावेश छ । तपाईंको हालत उनीहरूले बुझेका छन् । एक आजीवन काराबास कति सजिलैसँग मृत्युको सजायमा बदलिन सक्छ ।
तपाईंका र मेरा धेरै साथीहरू जो– विद्यार्थी, वकिल, पत्रकार, कार्यकर्ता, जोससँग हामीले रोटी खायौं, हास्यौं, नाच्यौं र चर्को स्वरमा बहस गर्यौँ, उनीहरू पनि जेलमा छन् । मलाई थाहा छैन, तपाईंको वीवी (म वरवरको बारेमा कुरा गरिरहेकी छु, जेल सेन्सरले यसलाई कोडका रूपमा नबुझोस्) को बारेमा जानकारी छ वा छैन । वर्ष ८१ नाघिसकेका बुढा कविलाई बन्दी बनाएर मानौं जेलमा एक आधुनिक स्मारक खडा गरेको छ । एकदम उपेक्षा भोगिरहेको उनको स्वास्थ्य अवस्था निकै एकदमै सोचनीय छ । अहिले उनीहरू कोरोना संक्रमित छन् ।
उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरूसँग भेटघाट गरेका परिवारले भनेका छन, ‘उनीहरू एक्लै सुतिरहेका छन् र उनीहरूको रेखदेख गर्ने कोही थिएनन् । ओढ्ने च्यादर गन्हाउने भइसकेका छन् । उनीहरू हिँड्न सकिरहेका थिएनन् र अप्ठ्यारो गरी बोलिरहेका थिए । वीवी ! असंगत ! जो हजारौं, लाखौंलाई सम्बोधन गर्न पछि पर्दैनथे । जसका कविताहरूले आन्ध्र, तेलंगना र पूरा भारतका लाखौं–कराडौं व्यक्तिहरूको सपनालाई उचाइसम्म पु¥याएका थिए । वीवीको जीवनबारे चिन्ता भइरहँदा ठीक त्यसैगरी मलाई तपाईंको जिन्दगीको पनि चिन्ता भइरहेको छ ।
भीमा कोरेगाउँ केसका अन्य दोस्रा आरोपी– ‘भीमा कोरेगाउँ ग्यारह’, पनि धेरै ठीक छैनन् । उनलाई पनि कोरोना संक्रमण भएको आशंका गरिएको छ । वर्नन गोन्जाल्वेस जसले जेलमा वीवीको रेखदेख गरिरहेका थिए, उनी पनि संक्रमित भएको गम्भीर आशंका छ । गौतम नवलखा र आनन्द तेलतुम्बडे पनि त्यही जेलमा छन् । तर पटक–पटक न्यायापालिकाले जमानतको अपिल खारेज गरिरहेको छ । गुहावटीको जेलमा रहेका अखिल गोगोई पनि कोरोना संक्रमित भइसकेका छन् ।
हामी कठोर हृदय, क्रूर र कमजोर दिमाग भएका शासकबाट शासित छौँ, यस्तो विशाल देशको सरकार कति दयनीय छ, जो आफ्नै लेखक र विद्वानसँग डराइरहेको छ ।
संगीत, कविता र प्रेम
केही महिनापहिले लागेको थियो, अवस्था सुधार भइरहेको छ । लाखौं व्यक्तिहरू सिएए र एनआरसीविरुद्ध सडकमा आएका थिए, खास गरेर विद्याथीहरू । त्यो क्षण रोमाञ्चक थियो । यसमा कविता, संगीत र प्रेम थियो । कमसे कम यो एक विद्रोह थियो । जुन तपाईंलाई मन परेको थियो ।
तर, उत्तर–पुर्वी दिल्लीमा फेब्रुअरीमा ५३ जनालाई मारेको आरोप पूर्ण रूपमा शान्तिपूर्ण सिएए–विरोधी आन्दोलनकारीमाथि लगाइयो, त्यो अत्यन्त गलत भयो । हरियारधारी निगरानी समूह जसले आसपासका मजदुर इलाकामा दंगा, आगजनी र हत्या गरिरहेको थिए, उनीहरूलाई नै प्रहरीले गरिरहेका थिए । यो कुरा त्यहाँको भिडियोबाट स्पष्ट हुन्छ कि उक्त घटना योजनाबद्ध हमला थियो ।
कोभिड लकडाउनको आवरणमा युवाहरू, जो धेरै मुसलमान विद्यार्थी हुन्, उनीहरूलाई दिल्ली र उत्तर प्रदेशबाट गिरफ्तार गरियो । पक्राउ परेका युवाहरूलाई प्रयोग गरेर अन्य व्यक्तिहरू गिरफ्तार गर्न खोजिएको खबरहरू आइरहेका छन् । जोविरुद्ध प्रहरीसँग कुनै एभिडेन्स नै छैन ।
कथानक लेखक एउटा नयाँ कथालाई पूर्णता दिनमा व्यस्त छन् । कथासुत्र यो हो कि राष्ट्रपति ट्रम्प दिल्लीमा भएकै समयमा दिल्लीमा नरसंहार गरेर सरकारलाई लाजमर्दो बनाउने एउटा ठूलो षड्यन्त्र थियो । यस्तो योजनासम्बन्धी मामिलासँगै जब प्रहरीले जुन मिति उल्लेख गरेको थियो, त्यो त ट्रम्पको यात्राभन्दा पहिलाकै पो पाइयो । सिसिए विरोधी कार्यकर्तालाई कसरी ह्वाइटहाउससम्म जोडियो, यो कस्तो प्रकारको षड्यन्त्र थियो ? प्रदर्शनकारीहरूले सरकार बदनाम नहोस् भनेर आफैंलाई नै मारेका हुन् त ?
मैले यो लेखिरहँदा अररिया, बिहारबाट एक महिलाको खबर आएको छ, जसले प्रहरीमा सामूहिक बलात्कार भएको उजुरी दर्ता गराएकी थिइन् । ती महिला र उनीसँगै गएकी महिला कार्यकर्तालाई नै गिरफ्तार गरिएको छ । केही यस्ता बेचैन गराउने घटना हुन्छन् ।
तपाईं जेलबाट बाहिर आउनुभएपछि तपाईंले देख्नुहुनेछ कि यो दुनियाँ कुन हदसम्म बदलिसकेको छ । कोभिड–१९ को नममा हतारो र रुग्ण सोचको लकडाउनले विध्वंश ल्याएको छ । यसको शिकार केवल गरिब मात्रै होइन, मध्यमवर्ग पनि भएका छन् । के तपाईं यो कल्पना गर्न सक्नुहुन्छ कि महिनौंंसम्म चल्ने देशव्यापी कर्फ्युजस्तो लकडाउन लगाउनुअघि १ अर्ब ३८ लाख जनतालाई केवल चार घण्टा (रात ८ बजेदेखि मध्यराति) सम्मको मात्र समय दिइयो ?
हिँडिंरहेका, चलिरहेका जनता, सामान, मेसिन, बजार, फ्याक्ट्री, स्कुल, विश्वविद्यालय सबै रोकिए । चिम्नीबाट उठेको धुँवा, सडकमा हिँडिरहेका ट्रक, बिहेमा आएका पाहुना, अस्पतालमा उपचार गराइरहेका बिरामी, जहाँको त्यहीँ रोकिए ।
यो विशाल देश एकाएक बन्द भयो, जसरी घडीको सुईलाई धनाढ्य बदमास बच्चाले तानेर निकाल्छ, किनकि उसले यस्तो गर्न सक्छ, अथवा उसलाई यस्तो गर्ने छुट छ ।
कोभिड–१९ एउटा यस्तो एक्स–रेमा परिवर्तन भइसकेको छ, जसमा समाजमा ग्रस्त संस्थागत अन्याय, जाति, वर्ग, धर्म र लैंगिक प्रस्ट देखिँदै छ । जब कि भाइरस आफ्नो बाटोमा अझै अगाडि बढिरहेको छ, हामी भने गतिहीन सतहभन्दा माथि भइरहेको विस्फोटमा बाँचिरहेका छौं । हामी कल्पना पनि गर्न सक्दैनौं कि टुटे–फुटेको दुनियाँ कहाँ पुगेर आएर खस्नेछ र कुन हदसम्म नोक्सानी हुनेछ ।
सहरमै थुनिएका लाखौं मजदुरका लागि आवास, भोजन, पैसा र यातायातको व्यवस्था थिएन । उनीहरू आफ्नो गाउँ पुग्नका लागि हजारौं किलोमिटरसम्म पैदल हिँडे । यसरी हिँडिरहँदा पनि पुलिसको हातबाट कुटाइ खाएर अपमानित भइरहेका थिए ।
यस्ता दृश्यहरूले जोन स्टेनबेकको ‘द ग्रेप्स अफ रेथ’ को याद दिलाउँथ्यो । यसलाई मैले भर्खरै पढेको थिएँ, गजब पुस्तक छ । यस उपन्यासमा जे घटित हुन्छ (अमेरिकामा मन्दीको दौरान भएको विशाल प्रवासको वर्णन) र यसबीच जे अन्तर छ, त्यसले यही देखाउँछ कि भारतका जनतामा आक्रोशको एकदम अभाव थियो । हो, कहिलेकाहीँ आक्रोश विस्फोटमा बदलियो तर यस्तो थिएन, जसलाई सुव्यवस्थित गर्न नसकियोस् ।
- सिसिए विरोधी कार्यकर्तालाई कसरी ह्वाइट हाउससम्म जोडियो, यो कस्तो प्रकारको षड्यन्त्र थियो ? प्रदर्शनकारीले सरकार बदनाम नहोस् भनेर आफैंलाई नै मारेका हुन् त ?
जब लाखौं मजदुर वर्ग आफ्नो महान् यात्रामा निस्किएका थिए, टिभी च्यानल र मूल धारका मिडियाले अचानक नै ‘प्रवासी मजदुर’ को अवधारणा निकाले । धेरै कर्पोरेटले प्रायोजित गोहीका आँसु बगाई प्रवासी मजदुरको शोषणका लागि बगायो । रिपोर्टरहरूले आफ्नो माइक्रोफोनलाई हिँडिरहेका जनताको मुखमा ठेलिदिए, ‘तपाईं कहाँ जाँदै हुुनुहुन्छ ? तपाईंसँग कति पैसा बचेको छ ? तपाईं कति दिनसम्म हिँडिरहनु हुनेछ ?’
तपाईं र तपाईंजस्ता व्यक्ति जो जेलमा बन्द हुनुहुन्छ, यही मेसिनविरुद्ध आन्दोलन गर्दै हुनुहुन्छ । त्यो मेसिन जसले पर्यावरण ध्वस्त गर्दै छ, मानिसहरूलाई बलपूर्वक गाउँबाट लखेट्छ ।
तपाईं हामी न्यायको कुरा गर्छौं, टिभी च्यानललगायत पत्रकारहरू यस मेसिनको गुणगान गर्छन् । उनीहरू नै तपाईंमाथि दोष थोपर्छन्, बदनाम गर्छन् ।
भारत र चीनको सीमामा घटना भएको छ, जसमा भारतीय सेनाले भौतिक क्षति बेहोरेको छ । यस सन्दर्भमा वार्ता जारी छ । तर यता भारतीय टेलिभिजनले ‘भारतको जित’को घोषणा गरिसकेको छ । बग्दै गरेको आँसुबीच सरकार नझुकेको प्रशंसा गर्न मिडिया जुटेको छ ।
यस तालाबन्दीका क्रममा मैले वैसिली ग्रासम्यानको उपन्यास स्टालिन ग्राद पढें (ग्रासम्यान लाल सेनाको अग्रस्थानमा थिए । उनको दोस्रो उपन्यास जीवन र भाग्य थियो, जसले सोभियत सरकारलाई आक्रोशित बनायो र पाण्डुलिपि खोसियो । मानौं, त्यो कोही सजीव मानिस थियो ।)
यो जीवन्त महतत्वाकांक्षी किताब हो । यस्तो जीवन्त, सिर्जनात्मक लेखन कक्षामा पढाइन्न । जहाँ एक वरिष्ठ नाजी जर्मन अफिसरले रुसमा अग्रमोर्चामा लडाइँबाट भागेर बर्लिन पुगेपछि वर्णन गरेका छन् । युद्ध जर्मनीका लागि गलत दिशामा मोडिएको थियो र ती अफिसर हिटलरलाई यही कुराको वास्तविकता बताउन चाहन्छन् । जब ती हिटलरको सामुन्ने पुग्छन्, उनी आफ्ना मालिकसँग यतिसम्म डराउँछन् र यति रोमाञ्चित हुन्छन् कि उनको दिमाग नै बन्द हुन्छ ।
- विशाल देश एकाएक बन्द भयो, जसरी घडीको सुईलाई धनाढ्य बदमास बच्चाले तानेर निकाल्छ, किनकि उसले यस्तो गर्न सक्छ, अथवा उसलाई यस्तो गर्ने छुट छ ।
यही कुरा भारतमा भइरहेको छ । सक्षम मानिसको दिमाग डर र चाप्लुसी गर्ने इच्छाले शून्य भएको छ । यस महामारीबाट दुनियाँमा सबैभन्दा धेरै प्रभावित देशको दौडमा जित हासिल गर्ने देशहरू एक्काइसौं शताब्दीका तीन ‘जिनियस’ मानिसको नेतृत्वमा हुनु यो कुनै संयोग होइन, जस्तै मोदी, ट्रम्प ।
आशा छ कि नोभेम्बरमा हुनेवाला चुनावमा ट्रम्प हार्नेछन् । तर भारतमा यस्तो कुनै संकेत देखिएको छैन । विपक्ष मुर्मुरिएर ढलिरहेका छन्, उनीहरूका नेता शान्त छन्, झुकेका छन् ।
चुनिएका सरकारहरूलाई यस तरिकाले उडाइँदै छ कि जसरी कपमा कफीको फिँजलाई हटाइन्छ । गद्दारी र दल परिवर्तनलाई दैनिक समाचारमा विशेष राम्रो विषय जसरी पेस गरिँदै छ । विधायकलाई खेद्ने क्रम जारी छ र छुट्टी बिताउने रिसोर्टमा लगेर उनीहरूलाई बन्द गरिन्छ, ताकि उनीहरूलाई घुस र खरिददारीबाट बचाउन सकियोस् ।
मेरो मान्यता छ कि जो बिक्नका लागि तयार छ, उसको बोली सार्वजनिक गरिनुपर्छ, ताकि उसको महँगो खरिददारी हुन सकोस् । तपाईंको विचार के छ ? यसबाट कसैलाई केही फाइदा हुन्छ ?
- लाखौं मजदुर वर्ग आफ्नो महान् यात्रामा निस्किएका थिए, टिभी च्यानल र मूल धारका मिडियाले अचानक नै ‘प्रवासी मजदुर’ को अवधारणा निकाले ।
आउनुस्, वास्तविक कुरा गरौं । जनता वास्तवमा एक दलीय लोकतन्त्रको दुई व्यक्तिबाट शासित छन् । मलाई थाहा छैन, कति मानिसले यसलाई बुझ्छन् ।
लकडाउनका दौरान धेरै मध्यमवर्गका मानिसहरूले जेलजस्तो महसुस भइरहेको गुनासो गरे । तर तपाईं बुझ्नुहुन्छ यो कुरा वास्तविकताबाट कति टाढा छ । यी मानिसहरू आफ्नो घरमा परिवारको साथमा छन् (यद्यपि धेरै मानिस, खासगरी महिलाहरूले सबै तरिकाका हिंसाको परिणाम झेले ।)
यी मानिसहरू आफूले चाहेका मानिससँगै बस्न सक्थे । उनीहरूले आफ्नो काम पनि जारी राख्न सक्थे । उनीहरूसँग फोन, इन्टरनेट थियो । उनीहरू तपार्इंजस्तो अवस्थामा थिएनन् । न त उनीहरू कास्मिरका जनताको जस्तो अवस्था थिए, जो इन्टरनेट पहुँचबाहिर पछिल्लो ५ अगस्टदेखि नै छन् (जब धारा ३७० लाई समाप्त गरियो र जम्मू र काश्मीरबाट विशेष दर्जा र राज्य हुनुको अधिकार नै खतम गरियो, त्यतिबेलादेखि ।)
यदि दुई महिनाको लकडाउनले भारतको अर्थव्यवस्थामा यति ठूलो असर गर्छ भने तपाईंले काश्मीरका बारेमा सोच्न सक्नुहुन्छ, जहाँ एक ठूलो हिस्सामा इन्टरनेट बन्द सँग–सँगै सैन्य लकडाउन पनि वर्ष दिनदेखि चलिरहेको छ ।
- जो बिक्नका लागि तयार छ, उसको बोली सार्वजनिक गरिनुपर्छ, ताकि उसको महँगो खरिददारी हुन सकोस् । तपाईंको विचार के छ ? यसबाट कसैलाई केही फाइदा हुन्छ ?
व्यापार खतम भइरहेको छ, डाक्टरहरूमाथि आफ्ना बिरामीलाई हेर्नुपर्ने गहिरो दबाब छ, विद्यार्थीहरू अनलाइन कक्षाहरूमा उपस्थित हुन सक्दैनन् ।
यससँगै अर्को कुरा, ५ अगस्टभन्दा पहिल्यै हजारौं काश्मीरी जनतालाई जेलमा हालिएको थियो । यो पूर्वतयारी थियो, सुरक्षा कारण देखाउँदै गरिएको गिरफ्तारी थियो । अब यो जेल यस्ता मानिसहरूले भरिएको छ, जसले कुनै अपराध नै गरेका छैनन् ।
धारा ३७० हटाउनु घमण्डको नतिजा हो । यस घटनाबारे ‘एकपटक र अन्तिम पटक’ जस्ता डिंग हाँकिएको छ, समस्या हल गर्नुको साटो एउटा यस्तो अवस्था बनाइएको छ जसकारण पुरै क्षेत्रमा भूकम्प पैदा भएको छ । ठूला चट्टानहरू हल्लिरहेका छन् र आफैंलाई पुनर्व्यवस्थित गरिरहेका छन् ।
जो मानिस यी कुरालाई बुझ्छन्, उनीहरूका अनुसार चीनको सेनाले सीमा नाघिसकेको छ, वास्तविक नियन्त्रण रेखा पनि र लद्दाखका धेरै बिन्दुहरू पार गरिसकेको छ र रणनीतिक पोजिसनमा कब्जा जमाएको छ । जे होस्, भारतले भारतका टिभी च्यानलमा युद्ध जितिरहेको छ । तर, टिभीबाहिर यथार्थ पूरै दुनियाँ छ ।
- जनता वास्तवमा एक दलीय लोकतन्त्रको दुई व्यक्तिबाट शासित छन् । मलाई थाहा छैन, कति मानिसले यसलाई बुझ्छन् ।
मैले जति आशा गरेको भन्दा यो पत्र धेरै लामो भयो । अहिलेलाई बिदा लिन्छु । मेरो मित्र साहस र धैर्य राख्नुस्, यो अन्याय सधंैका लागि रहनेवाला छैन । जेलको ढोका खुल्नेछ, जस्तो चलिरहेको छ, त्यस्तो चलिराख्ने छैन । यदि यस्तै गरिराख्छन् भने उनीहरूले आफैं नष्ट हुने गतिमा छन् । हामीले केही गर्न जरुरी नै हुनेछैन । त्यस्तो अवस्था त्रासदीपूर्ण हुनेछ र परिणाम अकल्पनीय हुनेछ । तर, यस विध्वंशको दृश्यमा आशा छ, जनताको पक्षमा केही स्थापित हुनेछ ।
सप्रेम,
अरुन्धती
१७ जुलाई २०२०
(चर्चित लेखिका अरुन्धती रायले नागपुर सेन्ट्रल जेलमा बन्दी रहेका प्रोफेसर जीएन साई बाबालाई लेखेको यस चिठी अंग्रेजीमा स्क्रोल डटइन र हिन्दी अनुवाद जनचोक डटकममा प्रकाशित छ । यसलाई नेपाली पब्लिकका लागि एल.बी विश्वकर्माले नेपाली भाषामा भावानुवाद गरेका हुन् ।)