काठमाडौं– नेपालमा कोरोनाबाट बच्न ७२ प्रतिशतले मात्रै मास्क लगाउने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनअनुसार ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेको पाइएको छ ।
काठमाडौंका ३२ सार्वजनिक स्थलमा गरिएको अवलोकनमा अहिले पनि २७ प्रतिशतभन्दा बढीले मास्क राम्रोसँग लगाउँदैनन् । परिषद्का सदस्य सचिव प्राडा. प्रदीप ज्ञवालीले काठमाडौंका २३ सार्वजनिक स्थलमा गरिएको अध्ययनमा ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेकाे जानकारी दिए ।
अध्ययनका क्रममा व्यक्तिले मास्क लगाएको, नलगाएको वा कस्तो प्रकारको मास्क लगाएको भनी ४ हजार ५ सय २ जनामा गरिएको अवलोकनमा मास्क लगाउनेको संख्या ७२ दशमलव एक र मास्क नलगाउनेको संख्या २७ दशमलव एक प्रतिशत रहेको देखिएको छ । सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत र मास्कको बेवास्ता गरी लगाउनको संख्या २७ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत रहेका छन् ।
काठमाडौं उपत्यकाका २३ सार्वजनिक स्थलहरु तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो ।
परिषद्ले साउन ८ गते ६ जनाको विज्ञ समूह गठन गरी तथ्य संकलनका लागि ३९ जना अनुसन्धान टोली खटाएको थियो । अध्ययन प्रतिवेदन आजै स्वास्थ्य मन्त्रालयमा बुझाइएको डा. ज्ञवालीले जानकारी दिए ।