काठमाडौं - लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युटयुबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ ।
यस बीचमा गीतको म्युजिक भिडियोले युटयुबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ कमाएको छ । यो नेपाली लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ ।
सालको पात सार्वजनिक भएको छोटो अवधिमा नै धेरै हेरिएको लोकदोहोरी गीतमा दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले आवाज भरेका छन् ।
गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन् । “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने ।
म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका हुन् ।
गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने ।
गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । सालको पातले पनि सम्बन्धित लगानीकर्ता/कलाकारलाई आकर्षक कमाइ दिलाएको छ । रासस