१३औं साफ नेपालमा हुने थाहा पाएदेखि नै उनी उत्साहित थिइन् । उनी शुभचिन्तक, घरपरिवार र आफन्तलाई खेल देखाउन पाउने अवसर आएकाले मक्ख थिइन् । उनी अर्थात् रेश्मा भण्डारी । रेश्माका लागि १३औं साग सन् २०१६ पछिको दोस्रो खेल थियो । त्यसअघि उनले सन् २०१६ मा भारतको गुवाहटीमा भएको साफ खेलमा पहिलो पटक अवसर पाएकी थिइन् । अन्तर्राष्ट्रिय स्तरका खेलमा प्रायः दोस्रो र तेस्रो स्थानमा रहन्थ्यो, नेपाली महिला राष्ट्रिय भलिबल टिम । जसले यस पटक अरू राष्ट्रलाई हराउने लक्ष्य लिएको थियो । १३औं साफमा भलिबलको उपाधि आफ्नै घरमा राख्ने रेश्माको धोको थियो । साथीहरू पनि रेश्मालाई भन्थे, ‘यस पटको उपाधि हाम्रै हो ।’
नेपाली महिला राष्ट्रिय भलिबल टिमले अन्य खेलका खेलाडीभन्दा एक महिनाअघिदेखि प्रशिक्षण सुरु गर्यो । थाइल्यान्डको राष्ट्रिय भलिबल टिमसँग सिकेर पनि आएको थियो । त्यस्तै, टिमले बंगलादेशमा भएको सेन्ट्रल जोनमा पहिलो पटक गोल्ड मेडल जितेको थियो । जसका कारण रेश्मा र उनको टिम उपाधि जित्नेमा ढुक्क थियो ।
१३औं साफका बारेमा रेश्मा भन्छिन्–
महिला भलिबल टिममा एक किसिमको उत्साह थियो । विगतमा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य थियौं । घरेलु मैदानमै आयोजित अन्तर्राष्ट्रिय स्तरको खेलमा हारिएमा नमज्जा हुन्छ भन्ने लागेको थियो ।
- घरेलु मैदानमै आयोजित अन्तर्राष्ट्रिय स्तरको खेलमा हारिएमा नमज्जा हुन्छ भन्ने लागेको थियो ।
मलगायत पूरै नेपाली महिला राष्ट्रिय भलिबल टिम पटक पटक निराश भएको थियो । हामी प्रायः अन्तर्राष्ट्रिय स्तरका खेल अन्तिममा हार्थ्याैं । हामीलाई लाग्यो– जित्दा जित्दै हारियो । कारण– जित्दै जाँदा अन्तिममा हार्नुपरेकाले यस्तो लागेको हो ।
नेपाल-भारत प्रतिस्पर्धा शृंखला
मैले ६ वर्षअघि (सन् २०१४ मा) नेपालमा भएको दक्षिण एसियाली प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिएँ । त्यो लिग गेम थियो । पाँच देशसँग पालैपालो खेल्नुपर्थ्याे । हामीले सुरुमै भारतसँग हार्यौं । भारतको अंक सबैभन्दा धेरै थियो । अंकका आधारमा श्रीलंकालाई हराउँदै हामी नेपालमा पनि दाेस्राे भयाैं ।
सन् २०१६ मा भारतको गुवाहटीमा १२औं साफ गेम भयो । त्यहाँ हामी तेस्रो भयौं । इरानबाट नयाँ कोच आउनुभएको थियो । ट्रेनिङका लागि पर्याप्त समय थिएन । त्यस बेला पनि सुरुमै भारतसँगै खेल्नुपर्यो र हामी पराजित भयौं । फाइनल प्रवेशका लागि श्रीलंकालाई हराउनैपर्थ्याे तर सकेनौं । अन्तिममा माल्दिभ्सलाई जितेर तेस्रो भयौं । टिममा तालमेल नमिलेकाले हार्यौं भन्ने लाग्छ ।
त्यस्तै, सन् २०१८ मा हामीले माल्दिभ्समा वर्ल्ड क्वालिफिकेसन म्याच खेल्यौं । त्यसमा भारत र श्रीलंका थिएनन्, हाम्रो प्रतिस्पर्धी इरान थियो । त्यहाँ पनि हामीले दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो । त्यस प्रतियोगितामा पहिलो भएको भए हामीले एसियन गेम खेल्न पाउँथ्यौं । जुन नेपाली महिला भलिबल टिमका लागि कोसेढुंगा साबित हुन्थ्यो । त्यो खेल सम्झिँदा अझै दुःख लाग्छ ।
भारतसँगको मैत्री खेलमा पटक पटक पराजित भएका छौं । लामो हार शृंखलाका कारण घरेलु मैदानमा जित्नैपर्ने दबाब हामीमाथि थियो । हामी पनि निश्चित थियौ, खेल जितिन्छ । लागिरह्यो, घरेलु दर्शकलाई खुसी पार्दै इतिहासमा नेपालको नाम सुनौला अक्षरमा लेखाउनुपर्छ । यसैकारण हामीले अन्य प्रतियोगिताका खेलाडीले भन्दा करिब एक महिनाअघिदेखि अभ्यास सुरु गरेका थियौं ।
- लामो हार शृंखलाका कारण घरेलु मैदानमा जित्नैपर्ने दबाब हामीमाथि थियो । हामी पनि निश्चित थियौ, खेल जितिन्छ । लागिरह्यो, घरेलु दर्शकलाई खुसी पार्दै इतिहासमा नेपालको नाम सुनौला अक्षरमा लेखाउनुपर्छ ।
प्रशिक्षणमा प्रगति
खेलकुद परिषद्ले साग तयारीका लागि सबै खेलाडीलाई चार महिना ट्रेनिङमा राखेको थियो । नेपाल भलिबल संघले एक महिनाअघिदेखि ट्रेनिङ सुरु गरेको थियो, जसमा हुने खर्च संघले नै बेहोरेको थियो । भूकम्पका कारण भत्किएको कभर्ड हल बन्दै थियो । रंगशालाको कभर्ड हल मर्मत गर्दा माथिबाट डन्डीहरू खसिरहन्थे । जसका कारण ट्रेनिङमा अवरोध भयो । राम्रोसँग ट्रेनिङ गराउन हामीलाई थाइल्यान्डमा पठाइयो । हामी त्यहाँ २५ दिन बस्याैं ।
थाइल्यान्डका क्लबहरूसँग खेल्ने अवसर पायौं । यसै क्रममा राष्ट्रिय टिमसँग पनि खेल्न पायौं । यस खेलबाट हामीमा ऊर्जा थपियो, भारतसँग किन डराउने ? आत्मबल बढ्यो । खेलमा पनि सुधार गरेका थियौं ।
थाइल्यान्डबाट फर्किँदासम्म कभर्ड हल बनेको थिएन । हामीले मिनी कभर्ड हलमा ट्रेनिङ गर्यौं । एउटै कभर्ड हलमा दुई–तीन टिमले अभ्यास गर्नुपर्थ्याे । उपलब्ध पूर्वाधारमा मन लगाएर ट्रेनिङ गरेका थियौं । बिहान–बेलुकासम्म ट्रेनिङ गर्थ्याैं । एपिएफमा हुँदा बिहान ट्रेनिङ गरेपछि बेलुका गर्दिनथें । थाइल्यान्डमा हुँदा पनि यसैगरी ट्रेनिङ गरेका थियौं ।
ट्रेनिङकै दौरानमा हामीले एभिसी सेन्ट्रल जोन प्रतियोगिता खेल्यौं । यो प्रतियोगिता बंगलादेशमा भएको थियो । हामीले नेपाललाई पहिलो पटक गोल्ड मेडल दिलायौं । जसका कारण हामी उपाधि जित्ने कुरामा ढुक्क थियौं ।
जित्दा जित्दै हार
१३औं सागमा पहिलो लिग गेम भारतसँग भयो । पहिलो लिगमा जितिन्छ नै भन्ने लागेको थियो । नर्भस भइयो र हारियो । फाइनलमा भारतसँगै भेट भयो । हामीलाई बल्लतल्ल जितेका थिए र हाम्रै मैदानका कारण भारत निकै तनावमा थियो । फाइनल जितिन्छ भन्ने लागेको थियो । घरेलु मैदान र दर्शकको साथले ऊर्जा मिलेको थियो । हामीले पहिलो सेट हार्यौं । लगातार दोस्रो र तेस्रो सेट जित्यौं । हामी एकदमै आशावादी थियौं ।
हामी सर्भिसमा धेरै नै चुक्यौं । चौथो सेटमा सर्भिस धेरै बिग्रियाे । झन् खेलको अन्तिम अन्तिम घडीमा धेरै सर्भिस बिग्रियो । स्पाइक पनि किल हुन सकेन । ब्लक कमजोर नै भयो । अनि जित्दा जित्दै फेरि भारतसँग पराजित भयौं ।
घरेलु मैदानमा हारेपछि नरमाइलो लाग्यो । होम क्राउड, शुभचिन्तक र खेल हेर्न आउनुभएको थियो । सोचे जस्तो भएन । जुन हार एक्सप्रेस गर्न सक्दिनँ । खेल सकिए पनि हारसँगै खेलको ह्याङ ओभर बाकीँ थियो । लागिरहन्थ्यो, त्यो गेम जितेको भए हुन्थ्यो ।
धेरै जनाले हाम्रो खेलबारे सकारात्मक प्रतिक्रिया दिनुभयो । भन्नुभयो, सबैले नसोचेको गेम खेल्नुभयो । उहाँहरुलाई लागेको रहेछ, नेपाली महिला भलिबल टिम त्यति राम्रो खेल्ला र !
खेलपछि होटलमा गयाैं । होटलमा पाँच दिन बस्याैं । रिफ्रेस भयौं । सञ्चार माध्यममा बारम्बार सोधियो, ‘किन खेल हार्नुभयो ?’ देशवासीलाई दुखित बनाएकामा झनै दुःख लाग्यो ।
धेरै जनाले हाम्रो खेलबारे सकारात्मक प्रतिक्रिया दिनुभयो । भन्नुभयो, सबैले नसोचेको गेम खेल्नुभयो । उहाँहरुलाई लागेको रहेछ, नेपाली महिला भलिबल टिमले यति राम्रो खेल्ला र !
कोच हामीसँग खुसी हुनुहुन्थ्यो । साथीभाइ र शुभचिन्तकले भने– खेल नजिते पनि मन जित्यौ । भलिबल सामूहिक खेल हो, जितका लागि टिम नै बलियो हुनुपर्छ । टिममा एक, दुई जना मात्र राम्रो भएर हुँदैन । मेराे लक्ष्य छ- नेपाललाई अन्तर्राष्ट्रिय स्तरका भलिबल खेलमा गोल्ड मेडल दिलाउने ।