काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम अवस्थामा पुगेको छ । विवादपछि पार्टी एक रहन्छ अथवा फुट्छ भन्ने अवस्थामा पुगेको नेताहरूले सार्वजनिक रूपमै बताउँदै आएका छन् ।
२१ साउनमा नेकपाका चार जना (पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ)ले पत्रकारसँग छलफल गरेपछि नेकपामा विवाद कुन अवस्थामा पुगेको छ भन्ने प्रस्ट हुन्छ । उक्त पत्रकार भेटघाटपछि बालुवाटार भर्सेज खुमलटार भएको छ ।
नेकपाको विवाद अब नेतृत्वमा मात्र सीमित रहेन । यो विवाद आफू निकट स्थायी कमिटी, केन्द्रीय कमिटी, सांसद र पत्रकारसम्म पुगेको छ । २५ साउनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट पत्रकारले अनामनगरमा भेला गरेका छन् । २५ गते नै नेकपाका ६१ जना सांसदले पार्टी एकताको पक्षमा भन्दै सिंहदरबारमा पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलन गर्नुभन्दा पहिला ओली समूहका सांसदहरू महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङको घरमा छलफल गरेर योजनाबद्ध रूपमा तयारी गरेका थिए । पार्टीभित्र विवाद बढेपछि ओली अल्पमतमा परेका छन् । यही अल्पमतका कारण ओली पटक पटक अप्ठेरोमा पर्दै गएका छन् । त्यो अप्ठेरोबाट पार पाउन उनले विभिन्न किसिमका राजनीतिक गतिविधि गर्दै आएका छन् । अर्को समूह पनि निरन्तर ओलीलाई अप्ठेरो पार्ने रणनीति अपनाउँदै आएका छन् ।
केही दिनपहिले ओलीले आफू निकट सांसदहरूलाई पार्टी एकताको पक्षमा पत्रकार सम्मेलन गर्न सुझाव दिएका थिए । त्यही सुझावअनुसार उनी निकट सांसदहरूले एक दिन महिला तथा बालबालिका मन्त्रालयमा छलफल गरेका थिए भने अर्को पटक गुरुङको घरमा ।
- केही दिनपहिले ओलीले आफू निकट सांसदहरूलाई पार्टी एकताको पक्षमा पत्रकार सम्मेलन गर्न सुझाव दिएका थिए । त्यही सुझावअनुसार उनी निकट सांसदहरूले एक दिन महिला तथा बालबालिका मन्त्रालयमा छलफल गरेका थिए भने अर्को पटक गुरुङको घरमा ।
जब ओली निकट सांसदले पत्रकार सम्मेलन गर्न थालेको खबर खुमलटार र कोटेश्वरले पायो । त्यसपछि त्यही पत्रकार सम्मेलनमा प्रचण्ड नेपाल समूहका सांसदहरू पनि मिसिए । एकलौटी रूपमा पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाललाई विभाजनको पक्षमा रहेको देखाउन चाहेका ओलीको त्यो रणनीति प्रचण्ड नेपालले कमजोर बनाइदिए ।
'ओली समूहका सांसदले मात्र पत्रकार सम्मेलन गरेर आफूहरू एकताको पक्षको रहेको सन्देश दिन खोजेका थिए, त्यसमा हामीहरू पनि सहभागी भएका हौं । नेकपाका बहुमत पक्ष विभाजनको होइन एकताको पक्षमा रहेको सन्देश गएको छ,' पत्रकार सम्मेलनमा सहभागी एक सांसदले बताए ।
नेकपा पछिल्लो चार महिनादेखि विवादबाट बाहिर आउन सकेको छैन । विवाद यति धेरै बढ्यो कि दुई पार्टी एक भएको दुई वर्षमा नै विभाजन हुन्छ कि मिल्छ, अझै कोही भन्न सक्ने अवस्थामा छैनन् । नेता दैनिकजसो छलफलमा जुटिरहेका भए पनि निकास निस्कन सकेको छैन ।
ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने मागबाट सुरु भएको नेकपाको विवाद जहीँको त्यहीँ छ । राजीनामा माग्ने समूहमा संख्यात्मक रुपमा केही थपघट भए पनि मागमा भने अझै थपघट नभएको एक स्थायी कमिटी सदस्यले बताए ।
वैशाख १७ गतेको सचिवालय बैठकमा ओलीलाई बहुमत सदस्यले राजीनामा दिन भने । ओलीले राजीनामा दिए उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने तर त्यो पनि कोरोना भाइरसको महामारी सकिएपछिको भाका राखे । उक्त प्रस्तावले बहुमतमा रहेको प्रचण्ड-नेपाल समूह रक्षात्मक बन्यो ।
२० गतेको सचिवालय बैठकमा पनि ओलीको पल्ला भारी भयो । तर त्यसको ४ दिनपछि पुनः ओली कमजोर बने । यसको एउटै कारण हो गौतम । गौतम ८ दिनसम्म प्रधानमन्त्रीको उधारो भाका सिरानी हालेर सुते । जब निद्राबाट उठे, त्यो प्रधानमन्त्रीको उधारो भाका सिसिफसको कथा जस्तो थियो । जुन कोरोनाको महामारीसँग जोडिएको थियो ।
अहिले पनि नेकपामा शक्ति सत्तामाथि अधिकार कसरी जमाउने भन्नेमा रहेको छ । हुन त नेकपाका नेताहरू विधि र विधानको कुराको बहस भन्दै आएका छन् । तर आन्तरिक लडाइँ सत्ता र शक्तिमाथिको वर्चस्वको लडाइँ नै भएको लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन बताउँछन् ।
१४ गते ओली पक्ष रहेका गौतम पुन भैंसेपाटी गठबन्धनमा फर्केपछि ओलीले बैठक छोडेर हिँड्नुपरेको थियो । सचिवालयको विवाद नेकपामा स्थायी कमिटीमा पुगेर जगेडामा रहेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठक पनि विवादका कारण स्थगित भएको छ ।
पछिल्लो समयमा ओलीले स्थायी कमिटी अगाडि बढाउन चाहेका छैनन् भने प्रचण्ड नेपालले स्थायी कमिटी जसरी पनि सुचारु गरेर विवादको हल खोज्नुपर्ने अडान राखेका छन् । अहिले नेकपामा सामूहिक भेटघाट छलफलभन्दा पनि समूहका भेटघाट छलफल हुने गरेका छन् ।
तर, आइतबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा भने सबै पक्षका सांसदहरू सहभागी भएका थिए ।