काठमाडाैं– सीमाबाट निर्बाध रुपमा भइरहेको आवतजावत रोक्न र अति आवश्यक कामले नेपाल प्रवेश गर्ने व्यक्तिलाई तोकिएको अवधि क्वारेन्टिनमा राख्न अनुरोध गरिएको छ । नागरिक समाज वीरगन्जले आज प्रेस विज्ञप्ति निकालेर सीमानाकामा कडाइ गर्न अनुराेध गरेकाे हाे ।
त्यस्तै, समाजले अनावश्यक रुपमा घरबाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न नागरिकलाई अनुरोध गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘निराशाजनक अभिव्यक्ति सम्प्रेषण नगर्न, कसैलाई अनावश्यक दोषारोपण नगर्न तथा आफू र परिवारको शारीरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरी स्वास्थ सुरक्षाका उपायहरु अवलम्बन गर्न सर्वसाधारणमा विन्रमतापूर्वक आग्रह गर्दछौं ।’
समाजले जिल्ला प्रशासन, प्रदेश सरकार तथा स्थानीय तह, राजनीतिक दल एवं निजी अस्पाताल र सर्वसाधारणको ध्यानाकर्षणसमेत गराएको छ । समाजले सरकारी तथा निजी अस्पतालले सुरक्षा सतर्कताको उचित व्यवस्था गरी निर्बाध रुपमा स्वास्थ उपचार हुने तथा गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
त्यस्तै, नारायणी अस्पताललाई सबै दृष्किोणले थप प्रभावकारी व्यवस्थापनका साथ तत्कालै जनरल अस्पतालका रुपमा सञ्चालनमा ल्याउन अनुरोध गरिएको छ ।
अस्पताललगायत मानिसको आवागमन तथा भीडभाड हुने सार्वजनिक स्थलमा समय समयमा डिसइन्फेक्सन गर्न सुझाइएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘मृत्युपश्चात् धर्म र सांस्कृतिबमोजिम दाहसंस्कारमा रोकछेक र अवरोध नगर्न अनुरोध गरिन्छ ।’
अनिश्चितकालीन निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, विपन्न, भूमिहीन, गरिब र कमजोर परिवारका लागि विशेष राहत उपलब्ध गराउन अनुरोध गरिएको छ ।