काठमाडौं– साउन २५ गते बिहान ७ बजे । काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेसमा टाउकोबिनाको मानिसको शव भेटियो । शव भेटिएपछि प्रहरीले टाउकोको खोजतलास सुरु गर्यो । प्रहरीले टाउको पत्ता लगाउन नसकेपछि कुकुर ल्याएर खोजी कार्य सुरु गर्यो । जोजो नामको कुकुरले शव भएको स्थानबाट करिब तीन सय मिटर पर टाउको र खुट्टा भएको झोला पत्ता लगायो ।
शवको पहिचान हुन नसक्दा प्रहरीलाई पनि घटना भएको स्थान र घटना घटाउने मानिससम्म पुग्न समस्या भएको थियो । साउन २६ गते प्रहरीले शवको फोटो सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गरेपछि शवको सनाखत भयो । मृतक रोल्पा रून्तीगढी गाउँपालिका –७ का ४५ वर्षका कृष्णबहादुर बोहोरा भएकाे खुल्यो । उनी गोंगबुको एक होटलमा ८ महिनादेखि बसेको खुल्न आएको छ ।
प्रेम सम्बन्ध
मृतक बोहोरा र अभियुक्त कल्पना मुडभरी पौडेलबीच सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएको थियो । फेसबुकमा कुरा हुँदै गएपछि दुवै जना घनिष्ट साथी बने । उनीहरुको चिनजान भएको पनि चार वर्ष जति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चिनजान सामाजिक सञ्जालमा मात्र सीमित रहेन । बिस्तारै दुवै जनाबीच भेटघाट हुन थाल्यो । उनीहरुले घरमै समेत भेटघाट गर्न थाले । उनीहरुबीचको प्रेम झांगिँदै गयो ।
यो पनि पढ्नुहोस्ः गोंगबु हत्याको रहस्य बाहिरियो, अभियुक्त कल्पनाले प्रहरीलाई दिइन् यस्तो बयान
ब्ल्याक मेल
बोहोराले कल्पनाकाे फोटो राखेर नक्कली फेसबुक खोले । बाेहाेराले फेसबुकबाट कल्पनालाई ब्ल्याकमेल गर्न थाले । यसपछि उनीहरुबीच मनमुटाव सुरु भयो । बोहोराले कल्पनालाई आफूले भनेको मान्नुपर्ने दबाब दिन थाले । कल्पनालाई मानसिक दबाब सहन गाह्रो भयो । उनी बोहोराबाट टाढिने सोच बनाउँदै थिइन् ।
हम्मरले हत्या
कल्पनाले बोहरालाई आफ्नै कोठामा बोलाइन् । बोहोरा बा७२प ५६४४ नम्बरको स्कुटी चढेर कल्पनाकहाँ आए । दही, चिउरा, मासु र भोड्का खान दिइन् । खानामा स्लिपिङ ट्याबलेट मिसाएकी थिइन् । जसका कारण बोहोरा खाना आएपछि सुते । यही मौकामा कल्पनाले बोहाेरामाथि हम्मरले हमला गरिन् । कल्पनाले पहिलो प्रहार बोहाेराको अण्डकोषमा गरेकी थिइन् । उनको रिस त्यतिमा शान्त भएन । उनले बोहोराको घाँटीमा सलले बेरिइन् । बोहोराको मृत्यु भएको यकिन गरिन् । यसपछि उनले बोहोराको शरीर टुक्राटुक्रा पारिन् । शव व्यवस्थापनका लागि बोहोराको शरीर तीन टुक्रा पारेकी थिइन् । सुटकेसमा बोहोराको शरीर हालिन् । सुटकेसमा नअटाएपछि टाउको र खुट्टा अर्को झोलामा हालेर गोंगबुका फरक फरक स्थानमा फ्यालेकी थिइन् । शव व्यवस्थापनका लागि १५ वर्षीया छोरीको सहयोग लिएकी थिइन् ।
बोहोराको शरीर टुक्राटुक्रा पारिन् । शव व्यवस्थापनका लागि बोहोराको शरीर तीन टुक्रा पारेकी थिइन् ।
चितवन यात्रा
कल्पना २५ साउनमा चितवन गएकी थिइन । उनी एम्बुलेन्सबाट चितवन पुगेकी थिइन् । एम्बुलेन्स चालक उनले चिनेका मानिस रहेछन् । जसका कारण उनलाई चितवन पुग्न सजिलो भयो । प्रहरीले शवको पहिचान गरेपछि घटनास्थल पत्ता लगाएको थियो । यसपछि प्रहरीले कल्पनालाई चितवनबाट पक्राउ गर्यो । ३७ वर्षीया कल्पना केही टिभी शृंखलामा अभिनय गर्थिन् ।