काठमाडौं– शैक्षिक संस्थाहरु तत्काल सञ्चालन गर्न नपाइने निर्णय गरिएकाे छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणदर बढ्दै गएकाले शैक्षिक संस्थाहरू तत्काल सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
यसअघि भदौदेखि विद्यालयमा भर्ना अभियान सञ्चालन तथा विश्वविद्यालयका स्थगित परीक्षा सञ्चालन गर्ने तयारी भएको थियो । मन्त्रिपरिषद्को यो निर्णयसँगै शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) अनिश्चित कालका लागि बन्द हुने भएका छन् ।
त्यस्तै, सरकारले गोष्ठी, तालिम, सेमिनार, भेला, सिनेमा हल, पार्टी प्यालेस, सबै प्रकारका धार्मिक स्थल खोल्न नपाइने जानकारी गराएको छ । यो नियम उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।