काठमाडौं - कान्तिपुर पब्लिकेशनमा सहायक सम्पादकको रुपमा कार्यरत पत्रकार बलराम बानियाँ मृत भेटिएका छन् ।
दुइदिनदेखि सम्पर्क बिहिन भएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।
उनको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ । बानियाँ दुईदिनदेखि परिवार र कार्यालयसँग सम्पर्क बिहिन थिए । अपराध महाशाखाले बानियाँलाई उनको मोबाइल नम्बरबाट पत्ता लगाएको हो ।
उनी पछिल्लो समय बल्खु खोला किनारमा देखिएका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनी खोलामा हराएको आशंकामा खोजी गरेको थियो ।
उनी सम्पर्कविहिन भएपछि उनका परिवार तथा कार्यालयले उनी हराएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिएका थिए ।
पत्रकार बानियाँ दुई दशकदेखि कान्तिपुरमा कार्यरत थिए ।