काठमाडौं- वर्गीय असमानता हटाउने सपना साँचेर तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धमा होमिएका नैनबहादुर तामाङ ‘जमिन’को वर्तमानस्थिति जर्जर छ । २०५८ सालदेखि भूमिगत भएर थुप्रै मोर्चा लडेका जमिन अहिले क्यानसरसँग लडिरहेका छन् ।
‘युद्धमा विपक्षीसँग लड्नभन्दा क्यानसरसँग कठिन रहेछ,’ युद्धका बेला लागेको बमको छर्राकै कारण क्यान्सरपीडित भएका जमिनले विगतसँग तुलना गर्दै भने, ‘अहिले सवै भ्रम हो भन्ने लाग्छ, आफ्नो पीडा मात्रै सत्य जस्तो !’
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ का ४२ वर्षीय जमिनले क्यानसरको उपचारका लागि आफूसँग भएको जायजेथा सबै सकाए । थप उपचारका लागि तत्कालीन सहयोद्धा गुहारे । उनी जस्तै पीडित सहयोद्धाले चाहेर पनि सहयोग गर्न सकेनन् । युद्धकै आडमा ओहोदामा पुगेकाहरुले उनलाई चिन्दै चिनेनन् । त्यसैले जमिन अहिले युद्ध र आफैंलाई धिक्कारिरहेका छन् ।
पछिल्लो समय उनी उपचार खर्च सहयोगको अपिल गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेट्न गए । विगतमा सँगै युद्ध लडेका बादलले सहयोग गर्नेमा उनी आशावादी थिए । तर, बादलले जमिनलाई भेट्नै चाहेनन् । निकै प्रयासपछि भेटेर दुखेसो पोखे । तर जमिनले आश्वासनबाहेक केही पाएनन् । ‘हामीले नै ज्यान धरापमा राखेर उहाँहरुलाई नेता बनायौं,’ जमिनले रसिलो आँखा बनाउँदै भने, ‘आज उहाँहरुको व्यवहारले अतिदुखी बनाउँछ ।’
गृहमन्त्रीपछि उनी पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगे । दिनभर प्रचण्ड भेट्ने आशमा खुमलटार परिसरमा बसे । साँझ चह¥याइरहेको घाउ लिएर निरास हुँदै फर्किए । ‘त्यसपछि त पार्टी, सरकारले केही सहयोग गर्छ भन्ने आशै मर्यो,’ उनले भने, ‘केही व्यक्तिलाई पोस्न हामी ज्यान बाजी राखेर लडेका रहेछौं ।’
क्रमशः पार्टी, आन्दोलन र नेताप्रति उनको वितृष्णा बढ्यो । त्यहीं सन्दर्भमा एउटा युट्युब च्यानलले उनको दुखेसोमिश्रित आक्रोश सार्वजनिक गर्यो । जुन सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि साउन १४ गते प्रचण्डले जमिनलाई भेट्न खुमलटार नै बोलाए । उनी गए । प्रचण्ड र सभामुख अग्नि सापकोटाले ५०–५० हजार रुपैयाँ सहयोग गरे । उनलाई थोरै भए पनि राहत मिल्यो ।
जमिनको जर्जर विगत
नैनबहादुर २०५७ सालदेखि भूमिगत भएका हुन् । भूमिगत कालमा थुप्रै मोर्चामा लडे । दोहोरो भिडन्तमा परी उनी चारपटक घाइते भए । चयनपुरको भिडन्तमा उनलाई बमको छर्राले भेट्यो । त्यतिबेला उनलाई गोली पनि लागेको थियो । त्यहीं घाऊ र बम छर्राले बनाएको घाउकै कारण उनी क्यान्सरग्रस्त छन् ।
अहिले उनको चिउँडो खुस्केको छ । देब्रे आँखाले देख्दैन । मुख बाङ्गिएको छ ।
शान्ति सम्झौतापछि उनको शरीरमा गडेका बममा छर्रा निकाल्ने प्रयास भयो । तर मुखमा थुप्रै साना प्वाल देखिएपछि उपचारका लागि धुलिखेल अस्पताल लगियो । अनुहारमा अपरेशन गरेर स्टिल राखियो । तत्कालका लागि रोग ठिक भएजस्तो भयो । डिस्चार्ज भए । काम गर्न थाले ।
गत चैतमा उनको मुखबाट एक्कासी रगत बग्यो । उपचारका लागि फेरि धुलिखेल अस्पताल ल्याइयो । स्टिल झिकियो । त्यसपछि उनको मुख नराम्ररी बाङ्गियो ।
उनी अहिले आफ्नो कथा सुनाउन खासै जाँगर लगाउँन्नन् । बोल्दाखेरि आउने सहयोग पनि रोकिने हो भन्ने चिन्ता छ उनलाई । उनकी श्रीमती तीर्थमाया पनि आफ्नो पीडा भन्न हिचकिचाउँछिन् ।
जमिनले लडेका मोर्चा
-
२०५९ भदौ २३: सिन्धुली भिमान आक्रमण
-
२०५९ कार्तिक १०: ओखलढुंगाको रुम्जाटार विमानस्थल आक्रमण
-
२०५९ फागुन २९: भोजपुर सदरमुकाम आक्रमण
-
२०६२ वैशाख २६: सिराहको बन्दीपुर आक्रमण
-
२०६२: लालबन्दी आक्रमण
त्यस्तै उनले गर्जन चुचुरे, लहान, मैनपोखरी, मुडे, झुरझुरे, चेहेरे, चौतारा, काभ्रेभन्ज्याङ, भकुन्डे र घर्तीछाप आक्रमणका क्रममा टोली कमाण्डरको रुपमा काम गरेका थिए ।
तीर्थमायाको बेग्लै कथा !
नैनबहादुरकी श्रीमती तीर्थमाया पनि २०६० सालमा बहिनी र भतिजसँगै युद्धमा होमिइन् । ७ कक्षामा अध्ययन गरिरहेकी उनी माओवादीका ‘मिठा कुरा’मा लोभिइन् । ‘त्यतिबेला बुझिएन, अहिले पछुतो लाग्छ,’ तीर्थमायाले भनिन् ।
भूमिगत भएपछि चौतारा आक्रमण गर्दा उनको ब्लक दोलालघाट थियो । उनले त्यहाँ एउटा टिमलाई सहयोग गरिरहेकी थिइन् । यसपछि २०६२ सालमा बनेपा, चारदोबाटोको टोली कमाण्डर बनाइयो । उनले विषेशगरी काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र काभ्रेपलाञ्चोकलगायत क्षेत्रमा संगठन विस्तारको जिम्मेवारी लिएर काम गरिन् ।
नैनबहादुर र तीर्थमायाको ‘जनवादी विवाह’
माओवादी शान्ति प्रक्रियामा आएपछि नैनबहादुर र तीर्थमायाको चितवनस्थित शक्तिखोरको क्याम्पमा भेट भयो । आपसमा मन पराए ।
नैनबहादुर प्लाटुन कमाण्डर थिए भने तीर्थमाया प्रशासनमा थिइन् । सुरुमा नैनबहादुरले उनलाई मन पराए । जुन कुरा उनले आफ्ना कमाण्डरलाई सुनाए । पछि तीर्थमायाले पनि उनलाई मन पराइन् ।
त्यसपछि उनीहरुलाई प्रतिदिन १० मिनेट भेट्ने छुट मिल्न थाल्यो । प्रेम झाङ्गियो । अनि पार्टी नेता, कार्यकर्ताको उपस्थितिमा उनीहरुबीच ‘जनवादी विवाह’ भयो । त्यतिबेला एकैचोटि १६ जोडी लडाकुको विहे भएको थियो ।
सेना समायोजनका बेला उनीहरुले स्वेच्छिक अवकास लिए । घर फर्किए । देश परिवर्तन गर्न हिँडेकाहरु जस्ताको त्यस्तै स्थितिमा गाउँ फर्कनु पर्दा उनीहरुलाई असहज अनुभूत भयो ।
समाजमा पुनःस्थापित हुन निकै संघर्ष गर्नुपर्यो । अनेक चुनौतीबीच दैनिकीलाई औसत बनाउने प्रयास गर्दै थिए, नैनबहादुर र तीर्थमाया । जब नैनबहादुरको मुखबाट रगत बग्न थाल्यो, तब उनीहरुको दुर्दिन बल्झियो ।
अहिले तीर्थमाया क्यानसरपीडित श्रीमानको उपचारका लागि खर्च जुटाउन भौतारिरहेकी छिन् । श्रीमान–श्रीमती नै अध्याँरो कोठामा बसेर आफू आफूले गरेको क्रान्तिलाई धिक्कारिरहेका छन् । आफूले लडेर बनाएका नेताको बेवास्ताले उनीहरुको मन कुँडिएको छ ।